सरकारले खेललाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री केसी

Rajnedra

पोखरा । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताए ।

पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

‘पोखरालाई खेलको केन्द्र बनाउने हाम्रो योजना छ’, उनले भने ‘आसन्न दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग तय भइसकेको छ, थप अध्ययनपछि उक्त संख्या ७/८ पुग्न पनि सक्छ ।’

खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाको तयारी गर्न लागेको उनले बताए ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस