सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी

चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने

Ciment karkhana

काठमाडौं । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रिने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रिने भएको हो ।

परियोजना लगानी सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र कम्पनीका तर्फबाट निर्देशक लाइ वेईपेङले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको उपस्थिति थियो । परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको करार हो ।

सम्झौताअनुसार ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानीको सुरक्षाको प्रत्याभूति गरिएको बताए ।

सम्झौताअनुसार कम्पनीले नवलपरासीमा कारखाना स्थापना गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । आयोजनामा नेपालको शिवम् होल्डिङ समूहको लगानी रहेको छ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । शुरुमा दैनिक ६ हजार टन क्षमताको हुने सो उद्योगको उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य रहेको छ ।

आयोजनाका लागि तत्काल नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट विद्युत् उपलब्ध गराएको छ । कारखानाका लागि करिब १२ मेगावाट विद्युत् जरुरी रहेको छ । परियोजनामा चिनियाँ कम्पनीको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत लगानी रहनेछ ।

नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कारखाना स्थापना गर्न लागिएको हो ।

निजी क्षेत्रमा नै पहिलो पटक भएको यस खालको सम्झौताले अन्य साझेदारी लगानीको समेत अभिवृद्धि गर्ने सो अवसरमा जानकारी दिइयो । हङकङको रेड लायन शिवम् सिमेन्टसँग मिलेर होङसी शिवम् सिमेन्ट प्रालि स्थापना गरेको हो । लगानी बोर्डले अगाडि बढाएका केही ठूला परियोजनामध्ये जलविद्युत् आयोजनापछि यो नै ठूलो र महत्वपूर्ण हो ।

हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताए । उनले परियोजना कार्यान्वयनका क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस