मौसमी भाइरलको सङ्क्रमण बढेपछि स्वास्थ्य शिविर सुरु

Viral fever

जाजरकोट । मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।

दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ ।

मौसमी भाइरलको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट बिहीबार गएको स्वास्थ्यकर्मीसहितेको टोलीले शुक्रबार दिउँसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सञ्चालन गरी उपचार शुरु गरेको छ । शिविरमा ९० जनाको स्वास्थ्य उपचार गरिएकोमा तीमध्ये २० जना सिकिस्त बिरामी फेला परेको स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिए ।

सिकिस्त बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको रावलले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली गएर आज बिहानैदेखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिति सदस्य प्रशान्त शर्माले जानकारी दिए ।

सो शिविरमा अहिलेसम्म ६० जनाको उपचार भइसकेको डा सञ्जय थापाले बताए । डाक्टर थापासहित ४ जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ ।

अहिलेसम्म थर्ममिटर र कम्पासकै भरमा उपचार भएको छ, खकार, रगत जाँच गर्ने उपकारण नभएका कारण अनुमानकै भरमा उपचारमा जुटेको रावलले बताए ।

मौसममा सुधार नआएका कारण उपचारमा समस्या उत्पन्न भएको छ भने गाउँमै उपचार गर्न पाएपछि स्थानीय खुशी भएका छन् ।

गाउँलेले उपचार नपाउँदा समस्या’ भन्ने समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।

प्रतिकृया दिनुहोस