पत्रकार सञ्जयसन्तोषी राई बचाउँ अभियान तीव्र

Sanjaya santoshi rai

काठमाडौं । सञ्चारकर्मी आवाज विहीनहरुका पनि आवाज हुन् । सञ्चारकर्मीले दुनियाको आवाज बोलिदिनुपर्छ । अरुको पीडालाई सार्वजनिक गरेर न्याय दिनुपर्छ । तर, तिनै सञ्चारकर्मीका आवाज बोलिदिने चाँही कमै हुन्छन् ।

रातै दिन अरुका खबर बटुलेर न्याय दिने धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई आफैं जीवन रक्षाको अपिल गरिरहेका छन् । उनी मुटु रोगबाट पीडित छन् । 

लामो समयदेखि ह्रृदय रोगबाट पीडित छन् । उनलाई बुधबार गंगालाल राष्ट्रिय ह्रृदय केन्द्रमा भर्ना गरिएको छ । उनको मुटुको १८ भदौंमा सल्यक्रिया हुँदैछ ।

लामो समयदेखि पत्रकारिता गर्दै आएका राई नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष पनि हुन् । नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश–विदेशका सञ्चारकर्मी र शुभेच्छुकलाई आग्रह गरेको छ ।

राईको उपचारका लागी नेपाल सरकारलाई आर्थिक सहयोग गर्न नेपाल प्रेस युनियनका तर्फबाट केन्द्रिय अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघको तर्फबाट महासचिव रमेश विष्टले छुट्टाछुट्टै अनुरोध पत्रमा हस्ताक्षर गरी बुधबार सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन् ।

उनको उपचारका लागि पत्रकारले सहयोग संकलन पनि थालेका छन् । राईको सहयोगार्थ विभिन्न स्थानबाट सहयोग संकलन पनि हुन थालेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए । धनकुटामा पत्रकारबाटै राईको उपचारका लागि ५० हजारभन्दा बढी संकलन भइसकेको छ ।

राईको सहयोगार्थ नेपाल पत्रकार महासंघले विभिन्न जिल्ला र केन्द्रबाट सहयोग उठाउन थालेको छ । केन्द्रमा महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले संयोजन गरिरहेका छन् भने किरात राई पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतले पनि सहयोग संकलन गरिरहेका छन् ।

को हुन् सन्जय सन्तोषी राई ?
धनकुटामा २०२४ सालमा जन्मिएका सन्जय सन्तोषी राई नेपाल पत्रकार महासंघ धनकुटाको संस्थापक अध्यक्ष हुन् । उनी पटकपटक गरेर ४ कार्यकाल धनकुटाको अध्यक्ष भएका थिए । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षसमेत भए भने प्रेस काउन्सिल नेपालको सदस्य भइसको छन् ।

उनी धनकुटाबाट प्रकाशित हुने जनविश्वास साप्ताहिकका सम्पादक प्रकाशक हुन् । उनी नेपालका पुराना पत्रकारहरुमध्ये एक हुन् । धरानको पूर्व टाइम्सबाट पत्रकारिता सुरु गरेका राई सुरुची हुँदै देशान्तर साप्ताहिकमा काम गरेका थिए । उनी हिमालय टाइम्स दैनिकमा समेत जिल्लाबाट समाचार सम्प्ररण गर्थे भने नेपाल टेलिभिजनमा समेत लामो समय जिल्लाबाट रिपोर्टिङ गरे ।

उनी प्रजातान्त्रिक आन्दोलनमा निक्कै सक्रिय बनेका थिए । त्यही क्रममा उनी २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा ३ महिना जेल परेका थिए ।

 

प्रतिकृया दिनुहोस