रुकुमको दुर्गम गाउँमा अज्ञात रोगका कारण २ सय बढी बिरामी

Rukam

रुकुम । रुकुमको दुर्गम गाँउ खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् ।

आठविसकोट नगरपालिका–३,सर्वसाधारणहरु हप्ता दिन यता धमाधम बिरामी परिरहेको स्थानीयले बताए ।

स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् ।

नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण खदीका सर्वसाधारण बिरामी परेको बताए । भिन्नभिन्न लक्षणका बिरामीहरु दैनिक रुपमा बढ्दै गएको प्रमुख केसीले बताए ।

साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा स्वास्थ्य चौकी पनि छैन । स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको नगर प्रमुख केसीले बताए ।

हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन । हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट २ स्वास्थ्यकर्मीसहित औषधि पठाइएको छ ।

एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेब १ भरिया औषधिसहित खदीतर्फ गएको नगर प्रमुख केसीले बताए ।

‘बिना कुनै जाँच अनुमानका भरमा औषधि लिइएको छ,’ उनले भने, ‘त्यो औषधि उक्त रोगका लागि फिट हुने हो वा होइन थाह छैन । एकजनाले मात्रै बोकेको औषधिले कतिजना बिरामीलाई पुग्ने हो त्यो पनि समस्यै छ ।

हेल्थ असिस्टेन्ट मनिराज शाह र अर्को १ अहेब बुधबार जिल्ला अस्पतालबाट औषधिसहित त्यसतर्फ गएका हुन् ।

उनीहरु आज बेलुकासम्म सो स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महत्तोले एक्कासी धेरैजनामा ज्वरो आएकोले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताए ।

 

 

 

प्रतिकृया दिनुहोस