कुनकुन मन्त्री पुगे बाढी पीडितलाई भेटन ?

पार्टीहरुद्धारा राहत र उद्धारका लागि चौतर्फी अपिल

Badhi pidhit 29

काठमाडौं । केही दिनदेखि जारी वर्षाका कारण नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । बाढी र पहिरोबाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भइसकेको अवस्थामा सरकारले उद्धारका लागि जस्तो सुकै कदम चाल्ने बताइसकेका छन् ।

बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट ५ हजार ६ सय, सशस्त्र प्रहरीबाट १ हजार ७ सय र नेपाली सेनाबाट १ हजार जना गरी जम्मा ८ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढी र पहिरोको जोखिम बढिरहेका बेला मन्त्रीहरु आपतकालीन उद्धारका लागि विभिन्न जिल्ला गएका छन् । गृहमन्त्री जनार्दन शर्मा, पशु पंक्षी विकास मन्त्री सन्तकुमार थारु, आपूर्तिमन्त्री शिवकुमार मण्डल लगायतका मन्त्रीहरु अवलोकन गर्न र उद्धार गर्न विभिन्न जिल्लाको पुगेका छन् ।
गृहमन्त्री शर्मा, पशु पंक्षी विकास मन्त्री थारु बाढी पिडीत क्षेत्रको निरीक्षण गर्न पश्चिम नेपाल गए । उनीहरुले राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलेरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण गरे ।

आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रती बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, केन्द्रिय दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव कृष्ण राउत लगायतको टोली बाँके पुग्यो ।

सबै जना यती एयरलाइन्सको विमान चार्टर गरी निरीक्षणमा गएका हुन् । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरका बाढी पिडीतसँग भेटी उद्धार गर्न थप आवश्यक निर्देशन दिए ।

आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङको बाढी प्रभावित ठाउँहरुमा निरीक्षण र उद्धार तथा राहतमा खटिएका छन् । अविरल वर्षाका कारण मोरङका विभिन्न स्थानहरु डुबान भएपछि शनिबार नै आकस्मिक रुपमा गाडीबाट विराटनगर गएका थिए ।

मन्त्री मण्डल आईतबार बिहानैदेखि निरीक्षणमा खटिएका छन् । मन्त्री मण्डल आइतबार बिहानैदेखि डुबान प्रभावित क्षेत्रको निरीक्षणमा ब्यस्त रहे । उनले बिहानैदेखि, रंगेली, कर्सिया, बलासा लगायतका क्षेत्रमा पुगेर निरीक्षण गरेको उनका स्वकीय सचिव दिपेन्द्र ओडारीले बताए ।

सहयोगको अपिल जारी
केही दिनदेखि पूर्व नेपालबाट सुरु भएको विपत अहिले पश्चिम नेपालतिर सरेको छ । आइतबार पूर्वी नेपालतिर वर्षा कम हुँदै गएको छ भने पश्चिम नेपालतिर भीषण वर्षा सुरु भएको छ ।

लगातारको वर्षाले जनजीवन कष्टकर बन्दै गएको छ । अहिलेसम्म बाढी र पहिरोबाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भइसकेको छ । ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् । लगातारको बाढी र पहिरोले हालसम्म करिब १९ हजार घरपरिवार विस्थापित भएका छन् ।

यस्तो बेलामा चौतर्फी रुपमा सहयोगको अपिल भइरहेको छ । तर पनि पीडितहरुले राहत पाउन सकेका छैनन् भने उद्धारको पर्खाइमा छन् । राष्ट्रिय मानवअिधकार आयोग सहित विभिन्न राजनीतिक दलहरुले समेत पीडितको उद्धार र राहतका लागि सरकार र सरोकारवालासँग अपिल गरिरहेका छन् ।

उनीहरुले विपद् व्यवस्थापन र मानवीय सहायतामा खट्ने नेपाल सरकार, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई तत्काल प्रभावकारी कदम चालेर प्राकृतिक विपदबाट प्रभावित व्यक्तिको उद्धार र राहत कार्य तत्काल जुट्न विशेष आग्रह गरेका छन् ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता तोयम रायाले आइतबार बिज्ञप्ती जारी गर्दै केही दिन यता देशमा परेको निरन्तरको बर्षाका कारण बिपत्तिमा पर्नेहरुमा सबैभन्दा धेरै महिला, बालबालिका, अपांग र जेष्ठ नागरिकहरु परेको भन्दै तत्काल उद्धार गरी राहतको लागि सहयोगमा जुट्न सबैलाई अनुरोध गरेका छन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशमा परेको विपतका बेला सहयोग गर्न सबैमा आग्रह गरेको छ । पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ती जारी गर्दै विपतका बेला जतिसक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

शिव सेना नेपालले पनि विपतका बेला सहयोग गर्नु आफ्नो कर्तव्य भएको जनाएको छ । अध्यक्ष बिक्रम सिंह बमले विज्ञप्ती जारी गर्दै सबैसँग सहयोगको अपिल गरेका छन् ।

उनले देश विपतमा परेको बेला सरकारले जनतालाई राहत दिन नसकेको आरोप पनि लगाएका छन् । शिव सेनाले भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको भन्दै सरकारको तिव्र आलोचना पनि गरेको छ । अध्यक्ष बमले आफ्ना पार्टीका शिव सैनिकहरुलाई पीडामा परेका जनताको उद्धार र राहत काममा सक्रिय हुन आफना पार्टीका कार्यकर्तालाई आव्हान गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेकपा माले लगायतका साना दलले पनि विपतका बेला उद्धारका लागि जुट्न आग्रह गरेका छन् । उनीहरुले तत्काल पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...