ढल्केबर सवस्टेशनः आगामी कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका, आशंका कायमै

Dhalkebar bidhut 28

काठमाडौं । मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा अवरोध उत्पन्न भएको र ढल्केबर सवस्टेशनको कामसमेत सम्पन्न नहुने हो भने आगामी हिउँदमा विद्युत्भार कटौती पुनः हुने हो कि भन्ने आशंका कायम रहेको बेला पछिल्लोपटक तय भएको कार्यतालिकाले नयाँ आशाको सञ्चार गरेको छ ।

धनुषाको ढक्केबरमा सवस्टेशन निर्माण गरिरहेका चिनियाँ ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ । हाल करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी १० प्रतिशत कार्य सम्पन्न गराउन ऊर्जा मन्त्रालय र प्राधिकरणका तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोग गरिने प्रतिबद्धतासमेत जनाइएको छ ।

विगत सात वर्षदेखि निर्माणको क्रममा रहेको भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का प्राधिकरणले तोडेर ठेकेदारको बैंक ग्यारेन्टीका रुपमा रहेको रु ३० करोड रकमसमेत जफत गरेपछि ढल्केबर सवस्टेशन निर्माण कार्य रोकेको थियो । ठेकेदारले आफूसँग भएको सम्झौता तोडेको भन्दै ढल्केबरको कामसमेत नगर्ने र अलपत्र छाड्ने चेतावनी दिएको थियो ।

प्रसारण लाइन निर्माण र सवस्टेशनको विषय फरक फरक योजना भएकाले समानरुपमा हेर्न नहुने भन्दै प्राधिकरणले तत्काल सवस्टेशनको काम अगाडि बढाउन ठेकेदारलाई आग्रह गरेको थियो ।

धरौटी जफत गरेपछि सिसिपिजीका आयोजना प्रबन्धक गेङ जैलिङले प्राधिकरणलाई ढल्केबर सवस्टेशनको काम आंशिकरुपमा रोकिएको जानकारी गराएका मात्रै थिएनन्, काम नगर्ने भन्दै निर्माणस्थल छाड्ने बताएका थिए । आग्रह अटेर गरे ठेकेदारमाथि थप कारबाही हुने भन्दै प्राधिकरणले चेतावनीसमेत दिएको सन्दर्भमा सरोकार भएका पक्षबीच नयाँ सहमति भएको हो ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले केही दिन पहिले आयोजनास्थलको स्थलगत निरीक्षण गरी निर्माण सक्न चार बुँदे निर्देशनात्मक निर्णयसमेत गरेका छन् ।

ठेकेदारको यस्तो प्रतिबद्धतापछि हिउँदमा विद्युतभार कटौती अन्त्यका लागि भारतबाट थप बिजुली ल्याउन मार्ग प्रशस्त भएको ऊर्जा मन्त्री शाहीले बताए ।
हाल मुजफ्फरपुरमा एक सय एमभीको ट्रान्सफर्मर राखेर १४५ मेगावाट विद्युत् आयात भइरहेको छ । निर्माणाधीन सवस्टेशनको क्षमता २२० केभीको भएकाले विद्यमान ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई ४०० केभीमा चार्ज गरी नेपाललाई आवश्यक पर्नेजति विद्युत् आयात गर्न सकिन्छ ।

उक्त सवस्टेशन बनेपछि भारतबाट थप विद्युत् आयात गर्न सकिने र सो प्रसारण लाइनबाट आयात हुने विद्युत् अन्यत्रको भन्दा सस्तोसमेत पर्न जान्छ ।

गत भदौ १३ गते तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले चार महिनाभित्र सवस्टेशन निर्माण सम्पन्न गर्न ठेकेदारलाई सहमत गराउनुभएको थियो । अलपत्र अवस्थामा रहेको सवस्टेशन निर्माण कार्यले गति लिए पनि सम्पन्न भने हुन सकेको छैन ।

‘एक वर्षमा सवस्टेशन निर्माणमा धेरै काम भएको छ । तर ढुक्क भएर बस्ने अवस्था भने छैन, आगामी हिउँदमा मुलुकलाई पुनः अँध्यारोमा राख्ने भन्ने हुन्न । अब तोकिएकै समयमा पूरा हुनुपर्छ । कुनै पनि शर्त र बहाना सरकारलाई मान्य हुन्न’, ऊर्जामन्त्री शाहीले भने ।
आयोजनाको परामर्शदाता पावर ग्रिडले सवस्टेशनभित्रको नाला निर्माणको अन्तिम नक्शा नदिएको भन्दै ठेकेदारले आपत्ति जनाएको थियो । चार बुँदे निर्णयपछि परामर्शदाताले उक्त नक्शासमेत दिइसकेकाले गरेको कामको भुक्तानीसमेत हुने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...