किन चाहिन्छ नेपाली राजनीतिमा युवा आरक्षण ?

Chandra bhusarn

हरेक नीतिको मुल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ । तर, यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मुल संगठनमा युवाहरूको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग शुन्य छभन्दा खासै आपत्ति नहोला । विगतदेखि वर्तमानसम्म देशका हरेक राजनीतिक परिवर्तनको आन्दोलनहरूमा नेतृत्वदायी सक्रिय सहभागितादेखि बलिदानीमा समेत युवा शक्ति परिवर्तनको मुल सम्बाहकको रूपमा आफ्नो भूमिका अग्रपंक्तिमा दर्ज गराएका छन् । तर परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदहारण विरलै पाईन्छ । चाहे त्यो क्रान्तिकारी आन्दोलन अधिकार, पहिचान, विकास र समृद्धि जे सुकै को नाममा किन नहोस् ।

वर्तमान समयमा नेपालमा आरक्षण शब्दसँग नै एलर्जी हुने विद्वान, सामन्ती र शोषक मित्रहरूलाई भन्नु खासै केही छैन । तर ‘काम गर्ने कालु मकै खाने भालु’ भने जस्तै राष्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिमायती, जोस र जागरले भरिपूर्ण, क्रियाशील, आधुनिकीकरणलाई अंगाल्न सक्ने र भविष्यलाई नयाँ सोच र कार्य दिसा प्रदान गर्नसक्ने उर्वर युवा शक्तिलाई रास्ट्र निर्माणको मुल प्रवाहमा नल्याई उज्जवल भविष्यको परिकल्पना गर्नु मुस्किल मात्र हैन, असम्भव नै देखिन्छ ।

नेपालमा अध्यक्षमुखी राजनीतिक पार्टी, जनवर्गीय संगठनको रूपमा युवाको प्रयोग र विगतदेखि वर्तमानसम्मको संसदीय अभ्यासलाई नजिकबाट नियालेर हेर्दा राष्ट्रको माथिलो (उच्च) ओहदामा जस्तैः रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, सांसदजस्ता गरिमामय, जिम्मेवार, अधिकार सम्पन्न, अर्थपूर्ण र प्रभावशाली क्रियाशील पदहरूमा युवालाई घोषितरूपमा नै निषेध गरेको तीतो यथार्थ हामीसामू छ । पछिल्ला केही वर्ष यता तुलनात्मकरूपमा झिनो युवाको सहभागितामा भएको अभिवृद्धिको मुख्य कारण बिभिन्न आन्दोलनहरूको माग, चर्को जनदबाब, युवाहरूको सोच र कार्यशैलीप्रतिको बढदो लोकप्रियता र जनविश्वास र पार्टीहरूको संगठन निर्माणमा भएको विवसतालाई सकारात्मक सुरूवातको रूपमा भने लिन सकिन्छ ।

नेपाली राजनीतिमा युवा आरक्षणको आवस्यकता महसुस हुनुको मुख्य कारण भने हाम्रो पुराना परम्परागत सोच, चिन्तन र अभ्यासको फलस्वरूप उत्पन्न वास्तविक समाजिक र राजनीतिक परिस्थिति र घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ । किनभने, हाम्रो परम्परागत सोच (चिन्तन)को अभ्यास भएको समाजमा युवालाई एउटा अदक्ष, कमसल (कमजोर), पिछलग्गु, अपरिपक्व, होस नभएको, सोझो र तुच्छ जनावर (भेडा र बाँदर) अनुकुलता अनुसारको संज्ञा दिई युवामा त्रास र चिन्ता पैदा गरिएको छ । वास्तविकतामा त्यसको ठिक विपरीत केही अपवादबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्नो जीवनको उदेश्यको सोच युवा अवस्थामा नै तय गरेको तथा केही प्रतिकुल अवस्थाको वावजुद पनि नयाँपनको प्रयोग गरी केही युवा उदहारणीय कार्यबाट विश्वलाई चकित तुल्याउन सफल भएका छन् ।

फेरि वृद्धहरूको योगदानलाई भने अवमूल्यन गर्ने मिल्दैन । किनभने आजको कुनै पनि अविस्कार र उपलब्धि विगतको संचित उपलब्धिहरू माथिको एउटा थप र अतिरिक्त उपलब्धि हो । २१औं शताब्दीको विश्व प्रसिद्ध व्यक्तित्वहरूको जन्म ५औं शताब्दीमा भएको भए यही स्तरको अविस्कार र परिवर्तन गर्ने असक्षम हुन्थे होला । ठीक त्यसैअनुसार आजको युवा आफ्ना अग्रजहरूको औला समातेर हिड्न सिकेका कारण उहाँहरूमा रहेका विद्यमान गुण, विशेषता, कार्य कुशलता, अतीतका अनुभव, सोच र चिन्तनबारे जानकार भइसकेको छन् र थप नयाँपन तथा आधुनिकीकरणसँगको अभ्यासबीचको अनुपम संयोगिक योगबाट भविष्यलाई नयाँ कार्यदिशा प्रदान गर्नसक्ने क्षमता र विचारको भण्डारको रूपमा नेपाली राजनीतिमा युवा आरक्षणको माध्यमले युवाको शक्ति र सामर्थ्यको यथोचित सदुपयोग गर्न सकिन्छ ।

नेपाली राजनीतिलाई थप कार्यक्रममुखी बनाउन युवा जमातलाई अपनत्व महशुस गराउन तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनसमेत यसको अपरिहार्यता छ । किनभने, राजनीतिमा युवाहरूको आधुनिकीकरणको प्रयोग जस्तैः अंक गणितीय, तथ्यांकशास्त्रीय, ज्यामितीय तथा अन्य बैज्ञानिक उपकरणहरूको प्रयोगले केही हदसम्म अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिप्रतिको सामाजिक मोह र आदर्शलाई माथी उठाउनसमेत यसको आवश्यकता देखिन्छ । वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्यनजर गर्ने हो भने राजनीतिक रूपमा मोनोपोलाईज र संकुुचनमा परेका, अर्थिक रूपमा कमजोर, समाजमा क्षमता प्रतिको आशंका, घृणित खेलको रूपमा स्थापित राजनीतिप्रतिको युवा आदर्श र धारणा, अभिभावकको अपेक्षा र चलेको चलन जस्ता आधारभूत कारणले गर्दा आम युवालाई बिना आरक्षण राजनीतिमा न्यायोचित सहभागिता केही वर्षसम्म असम्भव देखिन्छ ।

त्यसकारण आज र अहिलेबाट यस पुनित कार्यमा देशको राजनीतिक दल र व्यक्ति , निर्वाचन आयोग, बिभिन्न संघसंस्था, बुद्धिजिबी, नागरिक समाज, पत्रकार लगायतका सरोकारवाला सम्पूर्णले व्यक्ति तथा निकायहरूले नेपाली राजनीतिमा युवा आरक्षण विषयमा ईमान्दारितापूर्वक खुलेर बहस प्रारम्भ गरी यसको न्यायोचित, व्यवहारिक एवम् बैज्ञानिक प्रयोगमाथि जोड दिने बेला भएको छ । किनभने मुख्यतः वृद्धको अनुभव र युवाको आँकलन तथा वृद्धको होस र युवाको जोस बीचको शक्ति सन्तुलनको निम्तिसमेत बर्तमान राजनीतिमा युवाहरूको उच्च नेतृत्व र निर्णय शक्ति केन्द्रहरूमा पहुँच आवश्यक देखिन्छ ।

लेखक : राष्ट्रिय जनता पार्टी नेपाल निकट युवा नेता हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...