यसकारण धनकुटा प्रदेशको राजधानी बन्छ-बन्छ

Santosh rai - विजय सन्तोषी राई

यतिवेला राज्य पुनर्संरचनाको कुरा उठिरहेको छ । त्यसमा पनि प्रदशेको राजधानी कहाँकहाँ बन्ने विषय अझ पेचिलो बन्दै गएको छ । खासगरी प्रदेश नं. १ को राजधानी बनाउने विषय विवादको विषय बनेको छ । कतिपयले आ–आफ्नै तरीकाले राजधानी राख्ने विषयमा बहस गरिरहेका छन् । कतिपयले पेश गरेका प्रदेशका प्रस्ताव सहजै स्वीकार्य हुने देखिएको छैन ।

खासगरी धनकुटा विगतदेखि नै पूर्वको केन्द्र भएकाले कतिपयले धनकुटामा नै प्रदशेको राजधानी बनाउनुपर्छ पनेर प्रस्ताव अघि सारकेका छन् । जसलाई जायज मान्न सकिन्छ । किन जाय मान्न पनि किन्छ भने धनकुटा त्यसै पनि ऐतिहासिक पृष्ठभूमी बोकेको जिल्ला हो । पूरानो क्षेत्रीय सदरमुकाम पनि हो ।

प्रान्तीय संरचनापश्चात यसलाई नै राजधानी बनाउने थप आधारहरु के हुन सक्छन् ? यो बहसको विषय हुनसक्छ । धनकुटा के कारणले प्रदेशको राजधानी हुन सक्छ ? त्यसका लागि निम्न आधारहरु प्रस्तुत गर्न अनिवार्य नै छ ।

ऐतिहासिक आधार

वि.सं. १८४० देखि धनकुटा पूर्व क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा स्थापित भएको हो । शुरुमा धनकुटाबाट पूर्वको केही भाग शासित थियो भने वि.सं. १८८५ देखि यो ठाउँ पूर्वको प्रशासनिक पूर्ण केन्द्रको रुपमा रह्यो । यसैलाई निरन्तरता दिँदै राणा कालीन समयमा धनकुटामा वडाहाकिम कार्यालय रहन गयो । वि.सं. १९४२ देखि धनकुटामा पूर्वका तीन अड्डाहरुको अपिल सुन्ने गरिन्थ्यो ।

नेपाललाई विकास क्षेत्रको अवधारणामा लगेपश्चात धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरियो । धनकुटामा क्षेत्रीय कार्यालयहरु स्थापना गरिए । अहिलेसमेत धनकुटामा क्षेत्रीयस्तरका कार्यालयहरु रहिरहेको र यसलाई केन्द्र स्वीकार गरिरहेको अवस्था छ । धनकुटाको यो ऐतिहासिक पक्षलाई स्वीकार गरिनु उपयुक्त छ । किनभने १६ जिल्लाको भूगोलको प्रशासनिक केन्द्र प्रस्तावित १४ जिल्लाको केन्द्र बन्न झन् स्वभाविक छ ।

भौगोलिक आधार

प्रस्तावित पूर्व प्रदेशको क्षेत्रफल २५९०५ वर्ग किलोमिटर छ । जसमध्ये हिमाली जिल्लाहरुले ओगटेको क्षेत्रफल १०४३८ वर्ग किमि, पहाडी क्षेत्रले ओगटेको क्षेत्रफल १०७४९ वर्ग किमि र तराई जिल्लाहरुले ओगटेको क्षेत्रफल ४७१८ वर्ग किमि रहेको छ ।

जनसंख्याको हिसाबले यो क्षेत्रका तीन जिल्लाहरु (ताप्लेजुङ, पाँचथर र तेह्रथुम) मा लिम्बु जातीको बाहुल्यता, चार जिल्लाहरु (इलाम, भोजपुर, सोलु र खोटाङ) मा राई जातिको बाहुल्यता, चार जिल्लाहरु (धनकुटा, संखुवासभा, ओखलढुंगा र उदयपुर) मा क्षेत्री समुदायको बाहुल्यता, झापा र मोरङमा ब्राह्मण समुदायको बाहुल्यता र सुनसरीमा थारु जातिको बाहुल्यता छ । यद्यपि सबै जिल्लाको बसोबास मिश्रित छ भने कुनै पनि जिल्लामा कुनै पनि जाति वा समुदाय ५० प्रतिशतभन्दा बढी छैनन् ।

धनकुटा पूर्व क्षेत्रको बीचमा देखिन्छ । यो जिल्ला पूर्व क्षेत्रमा प्रस्तावित १४ जिल्लामध्ये ७ वटा जिल्लाहरु (पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, सुनसरी र मोरङ) को बीचमा छ भने धनकुटासँग जिल्लाहरुको सीमाना जोडिएको छ । यस क्षेत्रमा हिमाली तीन जिल्ला, पहाडी ८ जिल्ला र तराई ३ जिल्ला छन् । उदयपुर भित्री मधेश र पहाडी भूभागको समिश्रण हो । यद्यपि यो जिल्लाको पहाडी भूभाग अधिक छ । हिमाल पहाड र तराईको मध्य भागमा रहेको पहाडी भूभागमा प्रशासनीक केन्द्र राख्नु क्षेत्रमा रहेको अत्याधिक पहाडी भूभाग र त्यहाँका बहुसंख्यक समुदायको सम्बोधन हुन सक्दछ ।

धनकुटा हिजोका दिनहरु भन्दा धेरै सुगम छ । पूर्व पश्चिम राजमार्गबाट ७० किलोमिटर उत्तरमा पर्दछ । तराईका तीन जिल्ला र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिम राजमार्ग हो भने बाँकी जिल्लाहरु पहाडी सहज भूभागबाट धनकुटा आइपुग्ने आधारहरु तयार भइसकेको छ । ताप्लेजुङ र पाँचथर जिल्ला तमोर कोरिडोर, मध्य पहाडी लोकमार्गबाट जोडिएका छन् भने इलाम राँके–रवि–भेडेटार सडकले जोडिएको छ । भोजपुर, खोटाङ, मध्य पहाडी लोकमार्गबाट जोडिएका छन् । दुधकोशी नदीको पुल निर्माणपश्चात सोलु र ओखलढुंगासमेत पहाडी मार्गबाट धनकुटा आउन सक्दछन् ।

यस क्षेत्रका सबै नागरिकहरु हवाई मार्ग प्रयोग गर्ने क्षमता राख्दैनन् । यसकारण हरेक नागरिकको सडक मार्गको माध्यमबाट धनकुटामा पहुँच स्थापित हुने आधार बनिसकेको हुँदा धनकुटा प्रादेशिक राजधानीको केन्द्र बन्न सक्दछ । हवाई मार्गका लागि पनि हाल युद्धस्तरमा व्यापक तयारी भैरहेको छ ।

धनकुटाको हावापानीसमेत उपयुक्त छ । यहाँ समशितोष्ण प्रकारको हावापानी छ, यहाँ चिसोमा अत्याधिक चिसो पनि हुँदैन र गर्मीमा अत्याधिक गर्मी समेत हुँदैन ।

सामरिक आधार
धनकुटा प्रस्तावित प्रदेशको मध्य भागमा रहेको छ । यो शहर कुनै पनि वैदेशिक सीमानाभन्दा टाढा छ । प्राकृतिक प्रकोप वा जोखिम कम रहेको छ । यहाँ सुरक्षा निकायको समेत उपस्थिति भइरहेको हुँदा सामरिक किसिमले पनि धनकुटा उपयुक्त मानिएको छ ।

भौतिक अवस्था
धनकुटा पूर्वाञ्चलको केन्द्रको रुपमा रहेको हुँदा यहाँ भौतिक संरचनाहरु निर्माण भइसकेका छन् । जिल्लामा सरकारी जग्गा पर्याप्त छ । धनकुटालाई राजधानी बनाउने हो भने भौतिक निर्माणका लागि ठूलो खर्च बच्न सक्दछ ।

धनकुटा नगरपालिका भित्र नेपाल सरकारको नाममा रहेको खाली जग्गा १७,१५५ रोपनी, नेपाल ट्रष्ट, १९४ रोपनी, कृषि अनुसन्धान केन्द्र पाख्रिवास २०० हेक्टर छ । ६५०० रोपनीमा जम्मा ३९४ वटा सरकारी कार्यालयहरु रहेका छन् ।

खानेपानी र विद्युतको सुविधा पर्याप्त सुविधा छ भने एयरपोर्ट निर्माणको सम्भावना : धनकुटा नगरपालिका वडा नं. ९ मा सम्भाव्यता अध्ययन पूरा भएको अवस्था ।

शैक्षिक संस्थाहरु तथा अनुसन्धान केन्द्र : (स्नातकोत्तर तहसम्म अध्यापन हुने धनकुटा बहुमुखी क्याम्पस, निजामती विद्यालय, पाख्रीवास कृषि अनुसन्धान केन्द्र, सुन्तलाजात अनुसन्धान केन्द्र पारी पात्ले, कृषि प्राविधिक शिक्षालय उत्तरपानी आदि ।)

अन्य आधार
शहर वा मानव वस्ती विस्तार गर्दा कृषि उत्पादन कम हुने क्षेत्रलाई प्राथमिकता दिनुपर्दछ । यो क्षेत्रमा शहर बढाउने हो भने उद्योग धन्दाहरु पहाडी क्षेत्रतिर समेत निर्माण हुनेछन् । जनसंख्या पहाडतर्फ केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धनसमेत हुनेछ । यदी तराई क्षेत्रतर्फ बस्ती विकास वा बिस्तार गर्दै जाने हो भने अझ बढी कृषि योग्य र उत्पादनशील क्षेत्रहरु मानव बस्तीमा रुपान्तरण हुनेछन् । जसले गर्दा मुलुकको कृषि उत्पादन तथा खाद्य सामग्री माथीको परनिर्भरता अझ बढ्दै जान सक्नेछ ।

सन्तुलित बिकासको अवधारणालाई अघि सार्ने हो भने हिमाली र पहाडी क्षेत्रको बसाई सराईलाई रोक्नु अनिवार्य छ । बसाई सराई रोक्ने आधार भनेको तत्तत् स्थानमा भौतिक सुविधाहरु उपलब्ध गराउनु हो । नेपालको हालसम्मको बिकासले उपत्यकाबाहेक तराई भूभाग केन्द्रित विकासलाई बढवा दिएको देखिन्छ । फलस्वरुप, औद्योगिक विकास, सडक सञ्जाल, शैक्षिक संस्थाहरु, स्वास्थ्य केन्द्रहरु तराई केन्द्रित हुन पुगे र जनघनत्वसमेत तराईको नै बढिरहेको छ ।

पहाडी क्षेत्रको विकास गर्न पहाडी क्षेत्रको सडक सञ्जाल बिस्तार गर्ने, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरुको बृद्धि गर्न अपरिहार्य छ । धनकुटा जिल्लालाई राजधानी बनाउने हो भने यो क्षेत्रले जनसंख्याको खास हिस्सा पहाडी क्षेत्रमा नै रोक्न मद्दत गर्दछ । फलस्वरुप सन्तुलित विकासको आधार निर्माण हुनसक्दछ ।

धनकुटा केन्द्रित सडक सञ्जाल निर्माण गर्ने हो भने पहाडी क्षेत्रमा समेत साना शहरहरु स्वभाविक रुपमा विकसित हुनेछन् । जसले गर्दा पर्यटकीय विकासका आधारहरु अझ बिकसित हुनेछन् । धनकुटामा बन्ने योजनाहरुले पहाडी तथा हिमाली क्षेत्रको विकासको योजनाहरुलाई टेवा पुगेको हुनेछ ।

अन्त्यमा :
धनकुटा जिल्ला पहिचान, भौगोलिक निकटता, भौगोलिक वनावट, समदूरी, हावापानी, भौतिक संरचनाहरु र विकासको सन्तुलनका दृष्टिले पूर्व प्रान्तका लागि उपयुक्त राजधानी बन्न सक्दछ । अरु जिल्लाहरुले धनकुटालाई केन्द्र मानेर अघि बढ्ने हो भने बाँकी पहाडी र हिमाली भूभागको विकासलाई समेत महत्वपूर्ण टेवा पुग्नेछ । यसर्थ पूर्व क्षेत्रमा बसोबास गर्ने सबै जाति, समुदायको दिर्घकालीन हितका लागि सबै भन्दा उपयुक्त केन्द्र धनकुटा हुनेछ ।

राई नेपाली कांग्रेस धनकुटाका सचिव हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...