स्क्रब टाइफसबाट मृत्यु, जिल्लामा स्वाइनफ्लुका १सय बिरामी भेटियो

Sscrbbb

चितवन । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्लो आवमा १ सय ९ जनामा रोग देखिएकामा ४ मृत्यु भएको थियो ।

यो आव लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो । उनले जिल्लामा साउन महिनाको अहिलेसम्म २ सय ६४ जना बिरामीको परीक्षण भएकामा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिए ।

सत्ताइसभन्दा बढी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढीमा सो रोग देखिएको छ ।

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता भएको शर्माले बताए । माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ ।

नेपालमा २०७२ सालमा पहिलोपटक सो रोग देखा परेको थियो । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिए । चितवनमा उक्त रोगको परीक्षणका लागि किटको समेत अभाव छ ।

जिल्लामा स्वाइनफ्लुका १ सय बिरामी

चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच एनका १ सय बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १सय ३७ बिरामीको परीक्षणमा यसरी एनएच१ एन१ फेला परेको जानकारी दिए ।

भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताए ।

उनले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिए । स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनानइ छ ।

प्रतिकृया दिनुहोस