झापा बिर्तामोडमा स्वाइन फ्लुबाट २ को मृत्यु

Swine flu1

झापा । स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा २ महिलाको मृत्यु भएको छ ।

२ साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का २ महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छिन् । उनीहरूको स्वाइनफ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै झापामा स्वाइनफ्लु रोग फैलने त्रास बढेको छ ।

श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए ।

अनिताको यही साउन १ गते अस्पतालमा निधन भएको थियो । सोही अस्पतालमा स्वाइनफ्लुका कारण साउन १५ गते राति मनिषाको पनि निधन भएपछि बिर्तामोडमा स्वाइनफ्लु रोगको संक्रमण फैलिएको आशंकाले यहाँका सर्वसाधारण त्रसित बनेका छन् ।

स्वाइन फ्लुका लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातार जसो हाछ्युँ आउँछ ।

शरीरमा कमजोरी, आलस्यता, औषधि सेवन गरेपनि बिरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरीरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख पिताम्वर ठाकुरले बताए ।

स्वाइनफ्लु रोग सुँगुरबाट मानिसमा सर्ने हुनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा यो रोगको भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

प्रतिकृया दिनुहोस