निकालियो १० वर्षीय बालिकाको पेटबाट ७ किलो ट्युमर

काठमाडौं । एक १० वर्षीया बालिकाको पेटबाट ७ किलोको ट्युमर निकालिएको छ ।


प्यूठान भेडाबारीकी १० वर्षीय शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा देखा परेको थियो । उनको पेटमा भएको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।

तीन घन्टाको अथक प्रयासपछि वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा. डा. आरपी चौधरीको समूहले शीलाको शल्यक्रिया गरेर ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार आठ महिनाकै उमेरमा शीलाको शल्यक्रिया गर्न सकिन्थ्यो तर मासु बढेर ठूलो हुँदै अन्य रोगको जोखिम बढ्ने, शल्यक्रिया पनि जोखिमपूर्ण हुने भएकाले गरिएको थिएन ।


हरेक वर्ष कान्तिबाल अस्पतालमा करिब ३० बालबालिकाको ट्युमरको शल्यक्रिया हुने भए पनि आफ्नो चिकित्सकीय अनुभवमा १० वर्षको बच्चाको सात किलोको ट्युमरको शल्यक्रिया पहिलो पटक गरेको डा. चौधरीले बताए ।


‘पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर १ सय जनामा दुई जनामा मात्र हुन्छ, २५ किलो तौल भएकी उनको पेटमा सात किलोको ट्युमर थियो’, उनले भने, ‘सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो, अहिले उक्त मासुको जाँच गर्न पठाइएको छ, क्यान्सरको पनि जोखिम भएकाले मासुको रिपोर्टमा बाँकी उपचार निर्भर रहेको छ ।’

 

प्रतिकृया दिनुहोस