देशभरका सहरी स्वास्थ्य क्लिनिक’ विस्तार गरिने

Kilinic new

काठमाडौँ, । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई विस्तार गर्ने लक्ष्य मन्त्रालयले राखेको छ ।

पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ रोगको प्रकृतिमा परिवर्तन आएकाले पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित रोग क्यान्सर, मुटुरोग, हृदयाघातका बिरामी बढेकाले क्लिनिकको विकल्प नभएको बताए ।

नसर्ने रोग समयमै पत्ता लगाउन सकेमा यस्ता रोगबाट बच्न सकिन्छ भनेर क्लिनिकमा दु्रतसेवा दिइने उनको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमार्डौँका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले चाबहिल, मैतीदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, डल्लु, बूढानीलकण्ठ लगायतका स्थानमा क्लिनिक सञ्चालनमा ल्याउन पूर्वाधार निर्माण भइरहेको बताए ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने प्रस्ताव ल्याएका थिए ।

क्लिनिकमा एक एकजना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहनेछन् जसले नसर्ने रोगका बारेमा परामर्श दिने र पिसाबको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने बताइएको छ ।

रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन तथा खानपानका लागि उपयुक्त सुझाव दिनेछ ।

क्लिनिकको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको प्रमुख प्रशासक श्रेष्ठको भनाइ छ । त्यसबाहेक स्वास्थ्य संस्थाबाट दिँदै आएको साबिकका सबै स्वास्थ्य सेवा पनि क्लिनिकबाट पनि उपलब्ध हुनेछ ।

सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने रोग र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ ।

क्लिनिकका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको व्यवस्था पनि हुनेछ । क्लिनिकमा वृद्धवृद्धाका लागि परामर्श केन्द्र, किशोरकिशोरीका लागि प्रजननमैत्री सेवा पनि प्राप्त गर्न सकिनेछ । एउटा क्लिनिक सञ्चालनका लागि रु ४० लाख लाग्ने बताइएको छ ।

गत वर्ष नै सरकारले रु सात करोड ९० बजेट छुट्याएको भएपनि उक्त रकम चालु बजेटअन्तर्गत आएकाले खर्च हुन नसक्दा फ्रिज भएको श्रेष्ठको भनाइ छ ।

गत वर्ष बजेट आयो तर चाहिएको शीर्षकमा आएन, त्यसले गर्दा उक्त रकम खर्च हुन सकेन, हामीलाई उपकरण खरिदका लागि भौतिक पूर्वाधार शीर्षकमा चाहिए पनि त्यो पैसा चालु खर्चमा आएको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस