यस्तो छ कास्कीमा ट्राफिक प्रहरीको सफलता

राजश्व संकलन र मापसे कारवाहीमा पनि सफलता

Traffic pokhara

पोखरा । चालु आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरीले दोब्बर राजश्व संकलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ट्राफिक प्रहरीले ३ करोड २९ लाख ३२ हजार राजश्व संकलन गरेको छ । यो गत वर्षको तुलनामा झण्डै दोब्बर हो ।

ट्राफिकले गत वर्षको तुलनामा यस वर्ष १ करोड २३ लाख ९० हजार ६ सय बढी राजश्व संकलन गरेको छ । ०७२/०७३ मा कास्कीमा सवारी कारवाहीमा २ करोड ५ लाख ४१ हजार ४ सय राजश्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा कास्कीमा ४७ हजार ६ सय ९९ सवारीलाई कारवाही गरी ३ करोड २९ लाख ४१ हजार ४ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिवबहादुर थापाले बताए ।

गत वर्ष ४९ हजार ७ सय सवारी साधन विभिन्न कारवाहीमा परेका थिए । तर, यस बर्ष कारवाही संख्या गत बर्ष भन्दा कम भएको देखिए पनि जरिवाना शुल्कमा गरिएको बृद्धि भएका कारण राजश्व संकलनमा बृद्धि भएको हो ।

मापसेमा परे धरै
यो वर्ष कस्कीमा मादक प्रदार्थ सेवन (मापासे) कारवाहीमा धेरै परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष झण्डै ४ सय जनाभन्दा बढी मापसे कारवाहीमा परेका छन् ।

गत वर्ष१ हजार ३ सय ७८ जना मापासे कारवाहीमा परेका थिए भने आर्थिक वर्ष ०७३/०७४ मा त्ये संख्या बढेर १ हजार ७ सय २५ पुगेको छ । मापासे कारवाहीबाट मात्रै आर्थिक वर्षमा १७ लाख २५ हजार राजश्व संकलन भएको तथ्यांकले देखाएको छ । गत वर्षभन्दा यस वर्ष मापासेको जरिवाना वापतको राजश्व ३ लाख ४७ हजारले बढी हो ।

बढ्यो दुर्घटना पनि
बढ्दो सवारी चाप कारण कास्कीमा विगतका वर्षहरु भन्दा सवारी दुर्घटना पनि बढेको छ ।
२०७२/०७३ मा ६४ वटा दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो भने यस वर्ष २०७३/०७४ मा ९३ दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ । यस वर्ष मोटर साइकल, निजी कार, भ्यान र बस तथा ट्रकलगायत अन्य सवारीबाट ५४ जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

यो दुर्घटना ०७१/०७२ र ०७२/०७३ को तुलनामा बढी हो । यी वर्षहरुमा कास्कीमा ८७ र ६४ वटा मात्र दुर्घटना भएका थिए । बढ्दो जनसंख्या, साँघुरा सडक, हेलचक्राई र जे गरे पनि हुन्छ भन्ने अहमतावादी सोचले दुर्घटना बढेको प्रहरी नायव निरीक्षक थापा बताउँछन् ।

सचेतना अभियानमा ट्राफिक
ट्राफिकका प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने उदेस्यले आप्mनो कार्यक्षेत्रका अति सम्वेदनशील ६ स्थानका दुर्घननाग्रस्थ ठाउँहरुमा कन्भेक्स मिरर राखेको छ । मिरर नौलोघुम्ती, लान्द्रुक, नौडाँडा, कालिमाटी, नयाँपुल, भ्युप्वाइन्ट र ठूलीबिणी लगायतका स्थान सम्वदनशील क्षेत्रमा पर्छ ।

कास्कीमा सबैभन्दा बढी दुर्घटना हुने स्थलहरुमा खुल्ला र पक्की सडक भएको पोखराको न्यूरोड, एयरपोर्ट, चाउथे लगायतका स्थान पर्छन् । त्यसका साथै नयाँबजार, प्रस्याङ, जरेबर, बुँलौदी, बुद्धचोक समेत दुर्घटना हुने स्थानका रुपमा चिनिन्छन् । बिशेषगरी दिउँसो १२ देखि राती १० बजेसम्म अत्याधिक दुर्घटना हुने गर्छ ।

पोखरामा बढ्दो सवारीचापलाई नियन्त्रण गर्न ट्राफिकका प्रहरीले पावर ट्रेलर, अटोरिक्सा र ट्रयाक्टरलाई कार्यालय लाग्ने समयमा अमरसिंहचोक, जिरोकीमी, पालिखेचोक र बिरौटा क्षेत्रमा चलाउन रोक पनि लगाएको छ ।

कास्की ट्राफिकले यसका लागि शिक्षक, विद्यार्थी, समुदाय, संघ संस्था, आमा समुह, चालक परिचालक, यातायात व्यवसायी र सर्वसाधारणसँग विभिन्न प्रशिक्षण, जनचेतना र अन्तक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस