व्यापार घाटा ८ खर्बभन्दा बढी

Nepal rastra bank

काठमाडौं । पछिल्लो ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा ८ खर्ब २७ अर्ब ९५ करोड पुगेको जनाएको छ । यसले मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको देखाउँछ ।

आर्थिक वर्ष २०७४ को ११ महिनासम्ममा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भई ६८ अर्ब ६२ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा कुल वस्तु आयात ३०.९ प्रतिशतले बढेर ८ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०।९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट ३९ प्रतिशत, चीनबाट १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए पनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा केही वृद्धि भएको छ ।

आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार, भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको तथा अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २०.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम।एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राइसेल ब्याट्री, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

प्रतिकृया दिनुहोस