बझाङका दलित ममुदायको अवस्था : जता मालिक, उतै भोट

Bajhang cij

बझाङ । बझाङमा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन कैलाश गाउँ विकास समिति वडा नं ५ का ३५ दलित परिवारले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गाविस अध्यक्ष पदका उम्मेदवारलाई भोट हाले । उनी विजयी पनि भए । निर्णायक मानिएका सो वडाका दलित मतदाताले आफ्नो दललाई भोट नदिएकोमा नेपाली कांग्रेस र नेकपा एमाले समर्थक गैर–दलितहरू क्रूद्ध भए ।

दलितहरूलाई सामाजिक बहिष्कार गरियो । वडाका करीब १२० परिवार गैर–दलितले दलितलाई दिएको खलो (काम गरे बापत अन्न पाइने प्रथा) नदिने भए । यसैको भरमा गुजारा चलाइरहेका दलितहरूको जीविका संकटमा प¥यो । दलित समुदायबाट राप्रपालाई मत दिने निर्णयको अगुवाइ गरेका तत्कालीन गाविस उपाध्यक्ष शिवु कामीले ती दिन सम्झँदै भने ‘त्यसरी भोट दिएकोमा हामी निकै पछुताउनु प¥यो । गाउँमा आरामले हिंड्न सक्ने अवस्था रहेन । जहाँ भेट्यो त्यहीं हातपात र गालीगलौज गर्ने काम भयो । हामी निकै आत्तियौं ।’

गैर–दलितले खलो नदिएपछि भोकभोकै पर्ने अवस्था रहेकाले दलितहरूसँग ‘गल्ती स्वीकार गरेर माफी माग्नु’ को विकल्प रहेन । उनीहरूले गाउँका कांग्रेस र एमाले समर्थक गैर–दलितसँग माफी मागे । शिवु भन्छन्, ‘गल्ती नहुनु भइहाल्यो । हामी तपाईंहरूकै भरमा बाँचेका मान्छे हौं । माफ गर्नुस् भनेर खसी र नगद जरिवाना लिएर गयौं । उनीहरूको खुट्टामा टाउको राख्यौं । रोइकराइ गरेर मनायौं ।’ दलितको रोइकराइप्रति गैर–दलितहरूले पनि ‘उदारता’ देखाए । जरिवाना बापत राखेको खसी र नगद लिएनन्, फिर्ता गरिदिए । ‘आउने दिनमा गल्ती नगर्ने’ शर्तमा माफी भयो । यो घटना २० वर्ष अघिको हो ।

यसको १६ वर्षपछि २०७० सालको संविधानसभा निर्वाचनमा पनि यहाँका धेरैजसो दलित र गरीबहरूले आफूखुशी भोट हाल्न पाएनन् । जसले अरूको कुरा सुनेनन् र आफूखुशी भोट हाले उनीहरूले हैरानी, अपमान र झन्झट खेप्नुप¥यो ।

साविक कोइरालकोट गाविस–९ बिस्खेतका १८ परिवार दलितहरूले आफूले रोजेको दललाई मत दिएको आरोपमा कुटाइ खाए । पटक पटक ‘घरवासविहिन गराइदिने’ धम्की सहनु प¥यो । मतपरिणाम सार्वजनिक भएकै दिन दलित बस्तीको भोट आफू समर्थक दललाई नआएको थाहा पाएर गैर–दलितहरू कुटपिटमा ओर्लिए । प्रतिकारका क्रममा स्थानीय पदम दमाई, मदन दमाई र रमेश दमाई घाइते भए । यो मामिलाका जानकार ६२ वर्षीय गिरी दमाई भन्छन्, ‘मेरो जग्गामा घर बनाएर बस्ने, अनि भोट चाहिं अर्को दललाई हाल्ने भनेर धम्क्याए । घरै भत्काइदेलान् कि भनेर डरायौं पनि ।’
घटनाको बेलिबिस्तार लगाउँदै गिरी भन्छन्, ‘यस अघिका चुनावमा तपाईंहरूले भनेकै ठाउँमा भोट हालेका हौं । यसपाला गल्ती भइहाल्यो, नरिसाउनुस् भन्यौं । उनीहरूले ‘हाम्रै माटोमा बस्ने, हामीले भनेको नमान्ने’ भनेर गालीगलौज गरे ।’ पछि अर्को गाउँका केही गैर–दलितहरूको पहलमा विवाद टुङ्गियो । अहिले पनि केही कुरामा चित्त नबुझे घोचपेच सहनुपर्छ उनीहरूले । स्थानीय पदम दमाई भन्छन्, ‘यसपालिको चुनावमा पनि के हुने हो । एउटालाई भोट हाल्यो, अर्कोको धम्की खानुपर्छ ।’

अर्काको जग्गामा हलिया बसेर जीवन चलाइरहेका बझाङका धेरै दलित परिवारको आफ्नो जग्गा छैन । पुस्तौं पुस्तादेखि उनीहरू स्थानीय गैर–दलितकोमा हलिया बसेर जीविकोपार्जन गरिरहेका छन् । उनीहरूको बस्ने घर छ तर घर भएको जग्गा गैर–दलितका नाममा छ ।

अघिल्लो निर्वाचनमा भएको दुव्र्यवहार देखेकी कोइरालकोट बिस्खेतकी ६५ वर्षीया चाखुडी दमाईलाई चुनाव नै नआइदिए हुन्थ्यो भन्ने लाग्छ । चाखुडी भन्छिन् ‘को नेता हुन्छन् कसले फाइदा लिन्छन्, कुटाइ र धम्की खेप्नुपर्ने चाहिं हामीले । सबै आएर हामीलाई भोट नदिए देख्लास् भन्छन् । हाम्रा लागि त यो चुनाव नै नभइदिए हुन्थ्यो ।’

साविक कोइरालकोट गाउँ विकास समिति सदरमुकाम चैनपुरबाट एक दिनको बाटोमा पर्छ भने कैलाश गाविस चाहिं सदरमुकामबाट दुई घण्टा टाढा पर्छ । तर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दुई मिनेटमा पुगिने सदरमुकाम चैनपुरको मुटुमा रहेको बालमन्दिर निमावि मतदान केन्द्रमा पनि गरीबहरूले आफूखुशी मत हाल्न पाउँदैनन् भन्ने उदाहरण छ ।

कथा २०७० सालको हो । संविधानसभा निर्वाचनमा सदरमुकाम चैनपुरमा बस्ने वादी समुदायका मतदाताको मतपत्र हत्याउन लुछाचुँडी गर्ने क्रममा कांग्रेस र एमालेका कार्यकर्ता बीच मतदान केन्द्रमै कुटाकुट भयो । त्यो झगडाका प्रत्यक्षदर्शी पत्रकार सम्राट सिंह भन्छन्, ‘कुनै पनि वादी मतदाताले आफ्नो मत आफैं हाल्न पाएनन् । मतपत्र लिएर लाइनमा उभिएका वादी मतदाताका हातबाट मतपत्र खोस्दै अर्कैले भोट हाले । लुछाचुँडी गर्ने क्रममा झडप समेत भयो ।’

यसरी मतपत्र खोस्नुको भित्री कारण अर्कै रहेछ । धेरैजसो वादी समुदायका मतदातालाई पहिले नै पैसा र मदिराको व्यवस्था गरेर मतपत्र आफ्नो पार्टीको एजेन्टलाई दिन सहमत गराइएको थियो । त्यसरी किनेको मत पत्र पार्टी प्रतिनिधिले लिने क्रममा मतदान केन्द्रमा लुछाचुँडी हुँदा कांग्रेस एमाले कार्यकर्ताबीच झगडा भएको थियो ।

स्थानीय युवा धर्म वादीका भनाइमा, “कतिलाई रक्सी र पैसा दिएर फकाएरै मतपत्र दिन लगाए । दिन नमान्नेलाई हातखुट्टा भाँचिदिन्छौं भनेर धम्क्याए । त्यसपछि बाध्य भएर हामीले आफ्नो मत उनीहरूलाई नै हाल्न दियौं ।” यस पटक के होला रु धर्मले भने, ‘चुनावका लागि भनेर केही उम्मेदवारहरूले टोलमा पैसा, चामल र रक्सी बाँड्न थालिसकेका छन् । हेरौं अब के हुन्छ ?’”

दलितको भोटमा अरूको रजाइँ चल्नुमा खास कारण छ । बझाङ जिल्लामा ६ हजार ३१५ परिवार दलितको बसोबास छ । २२ हजार १९४ जनसंख्या रहेको यो समुदायका १२ हजार ४१६ व्यक्ति निरक्षर रहेको जिल्ला विकास समिति बझाङले तयार गरेको दलित ‘प्रोफाइल’ मा उल्लेख छ । ‘प्रोफाइल’ मा उल्लेख भए अनुसार १६ सय ८३ परिवार दलित पूर्ण रूपमा भूमिहीन छन् भने १ हजार ६३ परिवारसँग आफ्नो घर छैन । यीमध्ये १३ सय २२ परिवार दलित भिरालो र पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्छन् ।

दलितको कुल जनसंख्यामध्ये आफ्नै उत्पादनले १२ महीना खान पुग्ने संख्या २।४३ प्रतिशत मात्रै छ भने ७३।६६ प्रतिशत दलितलाई आफ्नो उत्पादनले ३ महीना मात्र खान पुग्छ । प्रोफाइल अनुसार, बझाङबाट मजदूरी गर्न भारत जाने दलितमा पुरुष भन्दा महिलाको संख्या बढी छ । ११ हजार ४ सय ५ दलित मजदूरीको लागि भारत गएकोमा महिला संख्या ६ हजार ३१ छ । बझाङका अरू समुदायमा रोजगारीका लागि महिला बाहिर जाने चलन छैन ।

जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार बझाङमा २८ सय ४८ दलित हलियाको पहिचान भएको छ । अधिकांश हलियाहरू अहिले पनि ऋणको ब्याज बापत गैर–दलितकोमा हलो जोतिरहेका छन् । बझाङमा अहिले पनि ऋण लिएपछि ब्याज वापत हलो जोत्ने हलिया प्रथा, लुगा सिउने, भाडा बनाउने, काम गरे वापत वर्षमा दुई पटक कात्तिक र जेठमा अन्न पाउने खलिया प्रथा, विवाहमा डोली बोके वापत अन्न पैसा पाउने डोलिया र मल बोक्ने, विवाह ब्रतबन्धमा भाँडा सफा गर्ने, फोहोर र अप्ठ्यारो काम गर्नुपर्ने भुड प्रथाहरू समाप्त भइसकेका छैनन् । सामाजिक अर्थ–राजनीतिमा पहुँच कमजोर भएको यो समुदायको भोट गैर–दलित समुदायका व्यक्तिले सजिलै खरीदबिक्री गर्छन् । सांसद् अफिलाल ओखेडा भन्छन्, ‘सबैजसो दलितहरू गरीब छन् । उनीहरूमा गैर–दलितहरू आफ्ना शासक हुन् भन्ने पुरानो सोच कायमै छ । त्यसैले निर्वाचनमा उनीहरू आफ्ना मालिकलाई असर पर्ने गरी अरूलाई मतदान गर्न सक्दैनन् ।’

ओखेडा लामो समय मानवअधिकारको क्षेत्रमा काम गरेका व्यक्ति हुन् । उनी भन्छन्, ‘म जिल्ला घुम्ने क्रममा धेरैजसो दलित अहिले पनि स्वतन्त्रतापूर्वक निर्णय गर्न डराइरहेको पाउँछु ।’ सांसद् ओखेडाका भनाइमा, आफूखुशी भोट हालेमा उनीहरूले चर्को सामाजिक र आर्थिक मूल्य चुकाउनुपर्छ । बाटोघाटो बन्द गर्ने, पानीका मुहान प्रयोग गर्न नदिने, दैनिक घाँसदाउरा गर्न जंगल जान नदिने जस्ता दुव्र्यवहार तुरुन्तै शुरू हुन्छन् ।

दलितलाई कतिसम्म हेपिन्छ भने कुनै गैर–दलित उम्मेदवारले आफ्नो पार्टीमा टिकट दाबी गर्दा ‘फलानो दलित बस्ती मेरो कब्जामा छ’ भनेर भन्न सक्छ । चुनावका अघिल्ला दिनहरूमा टाठाबाठा गैर–दलितहरूले दलित बस्तीको मतको जिम्मा लिएर एकमुष्ट मत फलानो उम्मेदवारलाई जान्छ भनिरहेका हुन्छन् । ओखेडा भन्छन्, ‘गैर–दलितले दलित बस्तीको भोट नै किनबेचमा राखिदिन्छ ।’
बझाङ जिल्लाकै पहिलो दलित सभासद् धर्मराज विक भन्छन्, ‘अहिले पनि धेरै दलित बस्तीको जग्गा गैर–दलितको नाउँमा छ । जीउ, परिवार र सम्पत्ति अरूको नियन्त्रणमा भएपछि उनीहरूले कसरी स्वतन्त्र भएर मत हाल्न सक्छन् ?’

जता मालिक उतै भोट

दलितको मात्रै होइन धेरैजसो गरीबको यही हालत छ बझाङमा । साविक कैलाश गाविसका एक ठकुरी जातका व्यक्तिले आफूले जीवनमा कहिल्यै आफूखुशी मत हाल्न नपाएको गुनासो गरे । आफू र आफ्ना साहुको नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, ‘मालिकले जहाँ भन्छन् भोट त्यहीं हाल्ने हो ।’

उनले यसो भन्नुको खास कारण छ । विपन्न आर्थिक अवस्था भएका उनले २०५३ साल चैतमा मजदूरी गर्न भारत जान स्थानीय व्यापारीबाट १ हजार ऋण लिएका थिए । चार महीनापछि असार महीनामा १ हजार भारु बुझाउने शर्त थियो । उनले त्यो वर्ष ऋण तिर्न सकेनन् । साहुले महीनाको सयकडा ५ ले ब्याज लगाउँदै अर्को वर्षसम्म ऋण २६ सय रुपैयाँ पुग्यो भने । अहिले पनि प्रत्येक वर्ष उनी ऋणको ब्याज तिरिरहेका छन् । आगामी निर्वाचनमा भोट हाल्ने कुरा निकाल्नासाथ उनले भने ‘बाख्रो बेच्ने बेलामा त मैले सोध्नुपर्छ । आफूखुशी भोट हाल्यो भने के हालत होला ?’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरीबी निवारण कोष अन्तर्गत बनेको गरीब घरपरिवार सहयोग समन्वय बोर्डले बझाङका गरीबहरूका बारेमा तथ्याङ्क संकलन गरेको थियो । हालै सार्वजनिक सो तथ्याङ्क अनुसार बझाङ जिल्लाका ३३ हजार ७ सय ७३ मध्ये १४ हजार १ सय ५३ परिवार गरीबीमा छन् । ३० हजार ३ सय २८ घरधुरीमा बोर्डले गरेको सर्वेक्षणमा १४ हजार ७३१ परिवार गैर–गरीब रहेको र ५ हजार ४ सय ४४ घरपरिवारको विवरण अपूर्ण भरिएका कारण गरीब वा गैर–गरीब छुट्याउन नसकिएको उल्लेख छ ।

अपूर्ण विवरण भरिएका परिवारको पुनः सर्वेक्षण गर्ने हो भने गरीबीमा रहेका परिवारको संख्या अझै बढ्ने जिल्ला समन्वय समितिका सूचना अधिकृत वीरेन्द्रबहादुर सिंहको अनुमान छ । मानव विकास सूचकाङ्कमा बझाङ बाजुरा भन्दा एक स्थान पछाडि ७४औं नम्बरमा छ । जिल्लाको गरीबी दर ५६।८ प्रतिशत छ । यसले जिल्लाको आधाभन्दा बढी जनसंख्या गरीबीको मारमा रहेको देखाउँछ ।

बझाङको आर्थिक र सामाजिक आयामको अध्ययन गरिरहेका जिल्ला समन्वय समितिका सूचना अधिकृत वीरेन्द्रबहादुर सिंहका भनाइमा, दलित मात्र होइन जिल्लाका धेरैजसो गैर–दलित गरीबहरू पनि मत हाल्न स्वतन्त्र छैनन् । सिंहले भने, ‘सामन्ती संस्कार बाँकी छ । सम्पत्ति र शक्तिवालाहरूको निर्देशनमा गरीबले भोट नहाल्ने हो भने उनीहरूलाई बाँच्नै मुश्किल पर्छ । धेरै उदाहरण मेरै आँखाले देखेको छु ।’

बझाङ जिल्लाको प्रोफाइल २०७० अनुसार, यहाँको औसत साक्षरता ५५.५० प्रतिशत छ भने महिला साक्षरता औसत भन्दा निकै तल ४०.१२ प्रतिसत छ । सिंहका भनाइमा, सांसद् ओखेडा पनि सहमत छन् । ओखेडा भन्छन्, ‘दलितहरूको कुरा बाहिर आएर मात्रै हो । गैर–दलित गरीबले पनि मत नहालेकै कारण शोषण र उत्पीडनको सामना गर्नु परिरहेको छ । कतिको त उठिबास नै भएको पनि छ ।’

आर्थिक र सामाजिक रूपले मतदाताहरू आफ्नो खुट्टामा उभिन सक्ने अवस्था नभएसम्म लोकतन्त्र, गणतन्त्र जे आए पनि त्यसको औचित्य नहुने प्रमुख जिल्ला अधिकारी केशवबहादुर थापा बताउँछन् । झण्डै ८ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेर मुलुकको गरीबी अवस्था बुझेका थापाले भने ‘बस्ती केन्द्रित गरेर मानिसलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू लागू हुनुपर्छ । जबसम्म मानिस हातमुख जोर्न अरू कसैको भर पर्नुपर्ने अवस्थामा हुन्छ तबसम्म उसले कसरी स्वतन्त्र भएर मतदान गर्न सक्छ ?’

मतदाताको पहिचान र मतदानको सुरक्षा गर्ने दायित्व जिल्ला प्रशासन कार्यालयको हो । तर, गरीबले कुटपिट, अपमान र दुव्र्यवहार खेपेका घटनाहरू गाउँघरमै सामसुम हुने हुँदा आफूले केही गर्न नसक्ने प्रजिअ थापाले बताए । कोइरालकोट विस्खेतका हलियाहरुस् पछिल्लो संविधानसभा निर्वाचनमा आफुखुशी भोट हालेको भनेर यहाँका केही युवालाई गैरदलितले कुटेका थिए ।

मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्न नपाएको अवस्थाबारे प्रश्न गर्दा मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले ‘यो राजनीतिक विषय भएकोले आफू केही नबोल्ने’ बताए । उनले भने ‘मतदाताहरू आफूले चाहेको दललाई मत हाल्न स्वतन्त्र छन् । योभन्दा बाहेक मैले केही भन्न मिल्दैन ।’

खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस