ग्रामिण भेगमा विश्वास छैन स्वास्थ्य संस्थाको

स्वास्थ्यकर्मी नहुँदा बिरामीहरु झाँक्रीको शरणमा

Helth post jajarkot

जाजरकोट । जागरकोटका ग्रामिण भेगका स्थास्थ्य चौकीहरुमा पर्याप्त औषधी र उपकरणको अभावमा विरामीले राम्रो उपचार पाउन सकिरहेका छैनन् ।

भरपर्दो उपचार नहुँदा निरास भएका विरामीहरु दुई दिन पैदल हिडेर जिल्ला सदरमुकामसम्म आइपुगेर नेपालगन्ज जान बाध्य छन् ।

एकातिर ग्रामिण भेगका स्वास्थ्य संस्थामा औषधी र उपकरण अभाव त छँदैछ, स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाभन्दा बढी समय तालिम र गोष्टीमा समय खर्चिने गरेका छन् । जसका कारण ग्रामिण भेगका बासिन्दा स्वास्थ्य उपचारबाट बन्चित हुँदै आएका छन् ।

स्वास्थ्य संस्थामा औषधी र उपकरण अभाव र स्वास्थ्यकर्मी नभेटिदा स्थानीय बासिन्दा धामी झाँक्रीको भरमा बाच्न बाध्य भएको त्रिवेणी नलगाड ९ का दलबहादुर डिसी बताउँछन् । अहिले पेट, टाउको र हात छामेर गरिने उपचारको विश्वास गुम्दै गएको स्थानीयको आरोप छ । सरकारले प्रयाप्त उपकरण र औषधीको व्यवस्था नगर्दा सम्म ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्थानीयले सजिलै विश्वास गर्न नसक्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ ।

स्वास्थ्य संस्थामा औषधी र उपकरण नहुँदा नजिकको स्वास्थ्य चौकीभन्दा पनि टाढाको जिल्ला अस्पताल जान बाध्य हुनुपरेको साविकको नायकवाडा गाविस वडा ५ की रामकुमारी सिंह बताउँछिन् । उनले भनिन्, ‘समयमै स्वस्थ्य संस्था नखोल्ने, खोले पनि कार्यालय सहयोगी मात्र हुन्छन् स्वास्थ्य संस्थामा जाँनै मन लाग्दैन् । चिनेको मान्छे भएमा अलि बढी केयर गरेर जाँच गरिन्छ । नत्र खासै ध्यान दिएको देखिँदैन ।’

पुरानो संस्कार र संस्कृतीले गाँजेको ग्रामीण बस्तीमा सामान्य बिरामी भएमा स्वास्थ्य नलैजाने, जीवन र मृत्युको मुखमा पुगेपछि स्वास्थ्य संस्थामा लिने चलनले गर्दा अधिकांश स्थानीयको उपचार गर्न ल्याउँदा बाटोमै ज्यान जाने गरेको छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा र भएका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मीको उपस्थिती नहुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाले विश्वास गुमाउदै गएको स्थानीयको आरोप छ ।

पैसाको अभावमा रोग पालेर वस्ने संस्कारका कारण समयमा उपचार नपाउँदै अधिकारको अकालमै मृत्यू भएको पाईन्छ । केही समय अगाडी जिल्ला अस्पतालको आयोजनामा पैक गाविसमा भएको स्वास्थ्य शिविरमा पुगेका डाक्टर भुपेन्द्रजंग मल्लले औषधी, उपकरण नभएका कारण अधिकांश बिरामीहरु स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा जाने गरेको पाइएको बताए । स्वास्थ्य संस्था आएर भरपर्दो उपचार नपाएपछि आफुहरु धामीको शरणमा पुग्नु अन्तिम विकल्प भएको बिरामीले सुनाएको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस