किन गएनन् कमल थापा पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सवमा ?

साच्चै कमल थापा र दरवारको दूरी बढेकै हो त ?

Kamal thapa 22

काठमाडौं । ‘पूर्व श्री ५ ज्ञानेन्द्रको ७१ औं जन्मोत्सवको अवसरमा सुख शान्ति र समृद्धिको कामना गर्दछु ।’ यो शुक्रबार विहान राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरेको ट्वीट हो ।

आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७१ औं जन्म दिन हो । पूर्व राजाको जन्म दिन मनाउन राजावादी मात्रै होइन, सयौंको संख्यामा सर्वसाधारणको लाइन थियो । तर, जसको पक्षमा लामो समयसम्म वकालत गरे, त्यही मान्छे भने अनुपस्थित थिए । उनी हुन् कमल थापा ।

धेरैले कमल थापा पूर्व राजाको जन्मोत्सवमा पहिलो सुचीमै शुभकामना दिन पुग्छन् भन्ने आँकल थियो । तर, उनी निर्मल निवास नगई ट्वीटमार्फत शुभकामना दिएर औपचारिकता प्रदान गरे ।

आखिर किन त ? यस विषयमा धेरैले टिकाटिप्पणी पनि गरेका छन् । तर, उनको नीजि सचिवालयले भने अस्वस्थ्यताका कारण शुभकामना दिन निर्मल निवास जान नसकेको तर्क दिएको छ । उनका नीजि सचिव राजाराम बढ्तौलाले भने, ‘उहाँ अस्वस्थ्य भएर शुभकामना दिन जान सक्नु भएन ।’

उनका अनुसार थापालाई सामान्य ज्वरो आएको छ भने घाँटीमा समस्या आएको छ । केही दिनअघि थापा सुदूरपश्चिमको भ्रमणमा गएको र गाडीमा लामो यात्रा गरेका कारण पनि थापा जन्मोत्सवमा जान नसकेका हुन् ।

राप्रपाका अध्यक्ष कमल थापाकै कारण गणतन्त्रमा गएको तत्कालीन राप्रपा पनि राजतन्त्रको वकालतमा आउन बाध्य भएको थियो । राजा मान्ने राप्रपा नेपाल र गणतन्त्रलाई स्वीकार गरेको राप्रपाबीच एकता हुँदा राजतन्त्र मान्ने र हिन्दु धर्मलाई मूल मन्त्र बनाउने सहमति भएको थियो । त्यही अनुसार स्थानीय तहको निर्वाचनमा राप्रपाले त्यसैलाई नारा बनाएको थियो ।

तर, त्यसरी राजतन्त्रको वकालत गर्ने पार्टीका अध्यक्ष नै पूर्व राजाको जन्मोत्सवमा नजादाँ दरवार र कमल थापा बीचको दूरी बढेको आशंका गरेका छन् ।

को को गए त ?
राप्रपामा विभाजन आएसँगै पछिल्लो समयमा पूर्व राजाको को नजिक बन्ने भन्ने होडवाजी नै चलेको छ । राप्रपा एकतापछि असन्तुष्ट बनेका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ एकीकृत राप्रपा (राष्ट्रवादी) नामक पार्टी नै स्थापना गरे ।

यो पार्टीलाई भित्री रुपमा दरवारको साथ छ भन्ने गरिएको छ । यसका अध्यक्ष डा. लोहनी पनि पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउन आफ्ना सहयोगीका साथ निर्मल निवास पुगेका थिए (हेर्नुस तस्विर)

पूर्व राजा ज्ञानेन्द्रलाई शुभकामना दिन पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्व प्रधानसेनापति प्यारजंग थापा, विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेसर सिंह, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाकै केन्द्रिय सदस्य तथा गायीका कोमल ओलीलगायत पुगेका छन् ।

पूर्व राजाको जन्मोत्सव मनाउन दिनभर सर्वसाधारणको लाइन थियो । पूराना र नाम चलेका सञ्चारकर्मीहरु पनि पूर्व राजालाई जन्म दिनको शुभकामना दिन निर्मल निवास पुगेका थिए ।

प्रतिकृया दिनुहोस