रुपन्देही र रोल्पा जिल्लामा मतगणना सुरु

Congress election11

बुटवल, । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको आज बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् ।

मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिएको हो ।

जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिएको छ ।

जिल्लाका बुटवल उपमहानगरपालिकालगायत अधिकांश स्थानीय तहमा आज बिहानदेखि मात्र गणना सुरु भएको उनले बताए ।

रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये बुधबार १५ वटा तहमा निर्वाचन भएको थियो ।

जिल्लाको कोटहीमाई गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारको केही दिनअघि मृत्यु भएपछि सो वडामा बुधबार मतदान स्थगित भएको छ । स्थगित निर्वाचनको मतदान भोलि शुक्रबार हुने निर्वाचन कार्यालयले जनाएको छ ।

रोल्पामा मतगणना सुरु

यसैबीच, रोल्पाका दश स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ । जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना राति १ बजेदेखि सुरु गरिएको छ ।

मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने एक स्थानमा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ ।

नेकाले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा ९माओवादी केन्द्र० माडी गाउँपालिकामा अगाडि रहेको छ । मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

जिल्लामा ६९.१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीनहजार ६ सय ८२ मत खसेको छ । सो गाउँपालिकामा पाँच हजार ८ सय ५३ मतदाता रहेका थिए ।

प्रतिकृया दिनुहोस