यी हुन् धनकुटा चलाउने सारथी

Dkt sarathi

धनकुटा । दोस्रो चरणको निर्वाचनले धनकुटा निर्वाचनमय नै भएको छ । गाउँघर, सरह, गल्ली जताततै निर्वाचनकै विषयामा चर्चा चल्ने गर्छ । त्यसमा पनि पार्टीका भन्दा पनि को होलान् राम्रा मान्छे भनेर पनि गन्थन हुने गरेको छ ।

धनकुटा यसै पनि पुर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम हो । यहाँका जनताले संघीय संरचनाअनतर्गत संघीय प्रदेश बनाउन माग पनि गर्दै आएका छन् । त्यही भएर पनि पूर्वमा धनकुटाको निर्वाचनप्रति सबैको ध्यान तानेको छ ।

धनकुटाप्रति ध्यान गइरहेका बेला धनकुटा चलाउने सारथी को होलान् भन्ने पनि चासो बढ्दै गएको छ । धनकुटालाई समुन्नत बनाउन सक्छन् कि सक्दैनन् होला भन्ने पनि चासो छ ।

खासगरी धनकुटा अहिले मोती हराएको नागझै भएको छ । यहाँका लोकप्रिय नेता सूर्यबहादुर थापाको अवसानपछि जिल्ला राजनीतिक कोणबाट ओझेलमै परेको छ । तर, स्थानीय निर्वाचनका बेला उम्मेदवाहरुले धनकुटालाई फेरि उचाईमा पु¥याउने अठोट गरिरहेका छन् ।
धनकुटामा अहिले निर्वाचनको माहोल तातेको छ । मुख्यगरी धनकुटा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा उम्मेदारी दिएका छन् ।

उम्मेदवारी दिएकामध्ये सबैले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेका छन् । उनीहरुले आफुले जिते धनकुटालाई संघीय प्रदेशको राजधानी बनाउने, खानेपानीको विकास गर्ने, पर्यटकीय सहरको रुपमा विकास गर्ने, सडक सञ्जाल विस्तार गरी घरघरमा गाडी पु¥याउने जस्ता योजना अघि सारेका छन् ।

सबै पार्टीका उम्मेद्वारहरु उस्तै छन् । सबैले जिल्लामा आफ्नै प्रकारले पहिचान पनि बनाएका छन् । तीमध्ये केहीको यहाँ चर्चा गरिएको छ ।

दिनेश राई
नेपाली कांग्रेस

उनी युवा नेता हुन् । धनकुटा नगरपालिकामा उम्मेद्वार मध्ये कान्छा नेता पनि हुन् । उनी २०५० देखि विद्यार्थी कालदेखि नै राजनीतिका लागेका थिए ।

नेविसंघको क्षेत्रीय सभापति समेत रहेका राई नेपाली कांग्रेस धनकुटाको कोषाक्ष्यक्ष पनि हुन् । उनी नेपालकै लोपुन्मुख जाति भनिएको आठपहरीय राई हुन् । उनी किरात आठपहरीय राई समाजका निवर्तमान अध्यक्ष हुन् ।

उनी युवा पुस्ताका रोजाईका उम्मेद्वार हुन् । तर, पाका पुस्ताले खासै रुचाउँदैनन् ।

चिन्तन तामाङ
नेकपा एमाले

उनी लामो समयदेखि नेकपा एमालेमा प्रभाव जमाएका नेता हुन् । उनी २०४९ को स्थानीय निर्वाचनमा धनकुटा नगरपालिका १ बाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

एमाले धनकुटाको सचिवालय सदस्यसमेत रहेका तामाङले वडाध्यक्ष भएका बेला आफ्नो वडामा विकासका धेरै काम गरेका थिए । त्यही भएर पनि अहिले एमालेले उनलाई मेयरको उम्मेदवार बनाएको छ ।

हिलेको हिले माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका तामाङले हिले आसपासबाट राम्रो मत ल्याउन सक्छन् भन्ने छ ।

वालानन्द भूर्तेल
राप्रपा

धनकुटा नगरपालिकाका मेयरका उम्मेदवारमध्ये सबैभन्दा पाका र अनुभवी उम्मेदवारका रुपमा बालानन्द भूर्तेललाई लिइएको छ । उनी राप्रपा धनकुटाका उपाध्यक्ष हुन् ।

२०२८ सालदेखि नेविसंघको राजनीतिक यात्रा थालनी गरेका भूर्तेललाई धनकुटामा समाजसेवीका रुपमा चिन्ने गर्छन् । उनी धनकुटा नगरपालिकाको मेयर भएका बेला थुप्रै राम्रा काम गरेकाले पनि उनको चर्चा छ ।

उनको राजनीतिक पृष्ठभूमी अलिक फरक छ । २०६२÷२०६३ को जनआन्दोलनपछि उनले धनकुटामा निक्कै सास्ती खेप्नुपरेको थियो । उनी त्त्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला धनकुटा नगरपालिकाका मेयर बनेका थिए ।

उनलाई माओवादीले जनआन्दोलन विरोधी भन्दै कालोमोसो दलेर धनकुटा बजारसमेत घुमाएका थिए । त्यति मात्रै होइन, उनको घर माओवादीले कब्जा नै गरेको थियो । त्यसबेला माओवादीले सदरमुकामबाटै १४ ट्याक्टर सामान उठाएर लगेका थिए ।

गणेश विष्ट
नेकपा माओवादी केन्द्र

उनी माओवादी केन्द्रका जिल्लाका प्रभावशाली नेतामै गनिन्छन् । सुरुमा माओवादी केन्द्रबाट सुन्दरबाबु श्रेष्ठलाई मेयर बनाउने चर्चा चलेको थियो श्रेष्ठले चुनाव प्रचारप्रसार गर्न पनि थालिसकेका थिए । तर, अन्त्यमा माओवादीले विष्टलाई उम्मेदवार बनाएको छ ।

उनी धनकुटा नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष हुन् । पूर्व वडाध्यक्ष भएको र हिलेमा उनको राम्रै प्रभाव भएका कारण पनि उनलाई माओवादीले उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस