आफ्नै हात जगन्नाथ : यसरी गरे प्रचण्डले मनोपली

प्रचण्डले आफ्नो जिल्लामा पारे १० महिनामा १५५ योजना

Prachanda 1

भरतपुर । आफ्नै हात जगन्नाथ यो नेपाली उखान त्यसै बनाइएको होइन । जब आफ्नो मौका पर्छ, त्यही बेला आफ्नालाई च्याप्ने र परार्यलाई लात हान्ने प्रचलन नेपाली समाजमा खुब मिल्छ ।

अझ राजनीतिमा त यो कुनै नौलो कुरा पनि होइन । त्यस्तै गरेका छन् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले । उनले आफु सत्तामा रहँदा आफ्नै छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन अनेक प्रपन्च त गरिरहेका छन् नै, विकासे काममा पनि त्यस्तै गरेका छन् ।

दाहालले आफ्नो गृह जिल्लामा थप अनुदानका रुपमा एकै वर्षमा १५५ योजना पारे । सरकारी नियमति योजना त त्यसै पनि छँदैछ । प्रचण्डले आफुले पारेका ती योजनाका लागि ६९ करोड ६० लाख जिल्ला पठाउन भ्याएका थिए ।प्रधानमन्त्री दाहालले आफ्नो चुनावी क्षेत्र चितवनमा बनाउने पूर्वतयारीस्वरुप प्याकेजका रुपमा यी योजना पार्न सफल भएका हुन् । दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा जिल्लामा कुनै काम नगरेको चर्को आलोचना खेप्नुपरेका कारण पनि योपटक उनले धेरै योजना ल्याएको जिल्लामा चर्चा चलेको छ ।

उनले त्यसरी जिल्लामा पठाइएको रकम दुरुपयोग चाँही भएको छैन । उनले रकम पठाएपछि विकासका कामले भने तीव्रता पाएको छ । उनले जिल्ला पठाएका अधिकांश योजनाले तीव्र गति पाएको जिल्ला समन्वय समिति जनाएको छ । चार वटा योजना प्राविधिक कारणले अघि बढ्न नसक्ने भए पनि अन्य योजनाको काम तीव्रगतिमा अघि बढिरहेको छ ।

प्रचण्डले गत फागुन १ देखि चैत २ सम्ममा ७ पटक जिल्ला समन्वय समितिमा थप अनुदानका रुपमा ती योजना आएका हुन् । फागुन १ मा ७० वटा योजनाका लागि ५२ करोड, फागुन १५ मा ९ वटा योजनाका लागि तीन करोड १६ लाख, फागुन १९ मा एउटा योजनाका लागि २० लाख, सोही दिन अरू ३८ योजनाका लागि ६ करोड ५० लाख, फागुन २० गते एक योजनाका लागि ३० लाख र चैत २ मा १२ योजनाका लागि ५ करोड रुपैंयाँका कार्यक्रम आएका हुन् ।

सबैभन्दा बढी योजना सडक कालोपत्र गर्ने रहेका छन् । विभिन्न ठाउँमा गरी सय किमीभन्दा बढी सडक कालोपत्र गर्ने योजनामा परेको छ । चैत १ मा खेलकुदसँग सम्बन्धित २४ योजनाका लागि दुई करोड ४४ लाख बजेटका कार्यक्रम आएका थिए । ती योजनामध्ये सुरुमा २६ करोड र पछि चार करोड गरी ३० करोड निकासा भइसकेको छ ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर दीपककुमार दासका अनुसार चार योजनाबाहेक अन्य योजनाको सम्झौता भई काम अघि बढेको छ । ती योजना सडक कालोपत्र, विद्यालय भवन, सामुदायिक भवन, पार्क निर्माण, खानेपानी, सौर्य बत्ती, मनोरञ्जन पार्क, ढल निर्माणलगायतका छन् ।

प्रतिकृया दिनुहोस