यस्तो छ देउवाको राजनीतिक यात्रा

ज्ञानेन्द्रले असक्षम भनेका देउवा बने ४० औं प्रधानमन्त्री

Pradhanmantri deuwa

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४०औँ प्रधानमन्त्री बनेका छन् । उनी गणतन्त्र नेपालको १० औं प्रधानमन्त्री हुन् ।

कांग्रेस, माओवादी, राप्रपा, लोकतान्त्रिक फोरम लगायतका दलको गठबन्धनमा उनी चौथोपटक प्रधानमन्त्री बनेका हुन् ।

शब्दचित्रमा देउवा
देउवाको जन्म २००३ जेठ ३१ मा आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय भएका देउवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

प्रधानमन्त्रीको यात्रा थालनी
उनी २०४८, ०५१ र ०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए भने ०६४ र ०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुरा, कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

पहिलोपटक उनी ०४८ मा गृहमन्त्री बनेका थिए । त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्री बन्न सफल भएका छन् । उनी पहिलोपटक २६ भदौं २०५२ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी ७ साउन २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । तर, १८ असोजमा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरी शाषन सत्ता आफ्नो हातमा लिएका थिए ।

फेरि उनी २१ जेठ २०६१ म तेस्रो पटक प्रधानमन्त्री बनेका थिए भने आज अर्थात् २३ जेठ २०७४ चौथोपटक प्रधानमन्त्री बन्न सफल बनेका छन् ।

कांग्रेसभित्र देउवा
शेरबहादुर देउवाले १० औँ महाधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्ने आकंक्षा व्यक्त गरे। गिरीजाप्रसाद कोइरालासँग भिडेका उनी सभापति हुन सकेनन् । २०५९ सालमा पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बने । ११ औँ महाधिवेशनपछि पार्टी एकीकरण भएपछि उनले २०६४ सालमा कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारी पाए ।

१२ औँ महाधिवेशनमा सुशील कोइरालासँग लडेका उनी पुनः पराजित भए । १३ औँ महाधिवेशनबाट उनी कांग्रेसको सभापतिमा उदाए । उनी सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै पहिलो पटक कांग्रेसको सभापति बन्न सफल बनेका हुन् । देउवाले १८ सय २२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले १२ सय ९६ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस