‘उज्यालो नेपाल’ अभियान निरन्तर

Bidhya devi

काठमाडौँ । सरकारले आगामी आवमा ‘उज्यालो नेपाल’ अभियानलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ । व्यवस्थापिका–संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन् ।

अघिल्ला वर्षमा दैनिक जनजीवनका लागि समेत कष्टकर बनेको विद्युत्भार कटौतीको समस्या वर्तमान सरकारको गठनलगत्तै अन्त्य भएको छ भन्दै आगामी आवमा समेत ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् ।

गत वर्ष १२ घन्टा रहेको विद्युत्भार कटौती अन्त्यसँगै मुलुकको आर्थिक वृद्धिदर उल्लेख्य रुपमा भएको छ । आगामी आवमा समेत ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिइनेछ । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबै प्रकारका साधन तथा स्रोत परिचालन गर्ने लक्ष्य राखिएको नीति तथा कार्यक्रममा जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने बताइएको छ ।

यस्तै सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षमताका प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिइने, अन्तरदेशीय प्रसारण लाइनमा विशेष जोड दिइने र बिजुली नपुगेका स्थानमा विद्युत् सेवा उपलब्ध गराइने कार्यक्रम पनि समावेश गरिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सकेसम्म नेपालको आफ्नै साधन र स्रोतमा अगाडि बढाइने र सम्भव नभएका खण्डमा विभिन्न दातृ निकायको सहयोगमा अगाडि बढाइने लक्ष्य राखिएको छ

नियमित विद्युत् आपूर्तिपछि मुलुकको आर्थिक क्षेत्रले उल्लेख्य प्रगति हासिल गरेको र गत वर्ष एक प्रतिशतभन्दा तल रहेको आर्थिक वृद्धिदर ७।५ प्रतिशतमा पुगेको स्मरण गर्दै सरकारको नीति तथा कार्यक्रममा विद्युत् उपलब्धतालाई थप सहजीकरण गर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस