आस्थाको राजनीति तथा राष्ट्रिय जनमोर्चाको चरित्र

Mohan bikram singh - मोहनविक्रम सिंह

गत केही दिन यता आस्थाको राजनीतिको प्रश्नमा कैयौँ लेख वा टिकाटिप्पणीहरू प्रकाशित भएका छन् । तिनीहरूमा नेपालका राजनीतिक दल वा सङ्गठनहरू राजनीतिक आस्था, मूल्य र मान्यताबाट धेरै विचलन भएको वा भ्रष्ट भएको कुराहरूको चर्चा गर्ने गरिएको छ । त्यो कुरामा धेरै नै सत्यता छ ।

नेपालका राजनीतिक सङ्गठनहरूको कार्य प्रणालीमाथि सरसरी प्रकारले पनि विचार गर्दा उनीहरूले मूल्य मान्यतामाथि कम ध्यान दिने गरेको र आफ्ना व्यक्तिगत महत्वाकांक्षा, फाइदा वा स्वार्थका लागि जुनसुकै प्रकारका अराजनीतिक, अनैतिक वा भ्रष्ट तरिकाहरू अपनाउने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । नेपालको राजनीतिमा त्यो पक्ष अत्यन्त व्यापक भएको छ । पार्टीको नेतृत्व शीर्ष नेताहरू मात्र होइन आम कार्यकर्ताहरूमा पनि त्यस प्रकारको चरित्र व्याप्त भएको पाइन्छ । यहाँ यो विषेश रूपले उल्लेखनीय छ ः त्यस प्रकारको चरित्रका वावजूद उनीहरूले किन देशको राजनीतिमा प्रमुख स्थान प्राप्त गर्न सकेका छन् वा किन बारम्बार जनताको बहुमत प्राप्त गर्न सफल हुने गरेका छन् ?

त्यस प्रकारको पृष्ठभूमिमा हामीले यो प्रश्नमाथि पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ ः कहीं हाम्रो देशको सम्पूर्ण सामाजिक अवस्था र जनताको चेतनाको स्तरमा नै कुनै गम्भिर समस्या त छैन, जसले गर्दा गम्भीर प्रकारको चरित्रगत दोष भएका राजनीतिक शक्तिहरूले शक्तिशाली हुने अवसर पाउँछन् ?

देशका राजनीतिक शक्तिहरूको राजनीतिक आस्था, मूल्य र मान्यताहरूबाट कति धेरै विचलन भएको रहेछ र त्यसको कारणले देशले कति धेरै क्षति उठाउनु परेको छ रु त्यो आम रूपमा थाहा भएको कुरा हो । त्यसकारण यहाँ हामी त्यसबारे बढी चर्चा गर्नेपट्टि लाग्दैनौँ । तर पत्रपत्रिकाले त्यो कुराको चर्चा गर्ने सन्दर्भमा त्यससित जोडिएको एउटा महत्वपूर्ण सकारात्मक पक्षप्रति कुनै ध्यान दिएको वा कुनै चर्चा गरेको पाइन्न । त्यो पक्ष हो ः राष्ट्रिय जनमोर्चाको चरित्र र त्यसले दशकौँदेखि खेल्दै आएको राजनीतिक भूमिका । त्यसले देशको राजनीतिमा जुन प्रकारको भूमिका खेल्दै आएको छ, त्यसबाट त्यसले सधैँ दृढतापूर्वक आस्थाको राजनीति गर्दै आएको कुरामा कुनै शङ्का रहन्न ।

त्यसले सिलसिलेवार रूपमा नै त्यस प्रकारको भूमिका खेल्दै आएका असङ्ख्य उदाहरणहरू छन् । त्यसले गर्दा त्यो देशको राजनीतिमा शीर्ष स्थानमा उभिन्छ । आम जनताले त्यो कुरालाई स्वीकार पनि गर्दछन् । तैपनि बिभिन्न पत्रपत्रिकाहरूको त्यसप्रति ध्यान नजानु आश्चर्यको कुरा हो । त्यसले गर्दा पुनः यो प्रश्न पैदा हुुन्छ ः कहीं उनीहरूको चीजहरूलाई हेर्ने, बुझ्ने वा मूल्याङ्न गर्ने पद्धतिमा नै कुनै गम्भीर त्रुटि त छैन ?

राजमोले दलिय स्वार्थका लागि कहिल्यै पनि आफ्ना सिद्धान्त, नीति वा मान्यताहरूसँग सम्झौता गर्ने वा सौदावाजी गर्ने गरेको छैन । अन्य राजनीतिक दलहरूले आफ्नो तात्कालिक स्वार्थ, सत्ता वा पदको लागि आफ्नो सङ्गठनका सिद्धान्त, नीति र कार्यक्रमहरू मात्र होइन, देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित समेतको सौदावाजी गर्न तयार भएका थुप्रै उदाहरणहरू छन् । त्यस प्रकारका कार्यहरूको एउटा लामो सूची नै छ । त्यसको विपरित राजमोको सम्पूर्ण इतिहासमा त्यस प्रकारको कुनै एउटा पनि उदाहरण पाइँदैन । पार्टीका कुनै नेता वा कार्यकर्ताहरूले कुनै बेला त्यस प्रकारका कमजोरी गरे पनि पार्टीले त्यस प्रकारका गल्तिहरूको आलोचना गर्ने, सुधार गर्ने वा आवश्यकतानुसार कारवाही गर्ने समेत गरेको छ ।

अन्य राजनीतिक पक्षहरूको चरित्र, संस्कृति र संस्कार नै यस्तो बनिसकेको छ कि त्यस प्रकारका कुनै गल्तिहरू गर्नु उनीहरूको लागि सामान्य कुरा हुन्छ र पार्टीको कुनै शीर्षस्थ नेता वा कार्यकर्ताले त्यस प्रकारको कुनै गल्ति गरेपनि त्यो पाच्य हुन्छ र त्यसका विरुद्ध कुनै आलोचना वा कारवाहीको आवश्यकता पर्दैन ।

राजमोले लामो समयदेखि संसदमा भाग लिने गरेको छ । संसदभित्र बिभिन्न राजनीतिक दल वा सङ्गठनहरूका कतिपय सांसदहरू कैयौँ प्रकारका अनियमितता, भ्रष्टाचार, दलबदल आदि कार्यहरूमा मुछिएर बद्नाम हुने गरेका छन् । त्यस प्रकारका कार्यहरूको लामो कालो सूची छ । तर आफ्नो लामो संसदीय जीवनमा राजमोका कुनै पनि सांसदहरू त्यस प्रकारका अनियमित वा भ्रष्ट कार्यहरूमा मुछिने गरेको एउटा पनि उदाहरण छैन । राजमोका जुन सांसदहरूपछि पार्टी छोडेर गए, उनीहरूले पनि राजमोमा छँदासम्म त्यस प्रकारका कुनै पनि कार्यहरूमा मुछिने गरेका थिएनन् ।

अन्य दलहरूका कतिपय सांसदहरूले सरकारबाट विभिन्न प्रकारका रकमहरू लिएर भ्रष्टाचार गर्ने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । संसदीय कोषको विकाससम्बन्धी रकममा पनि अन्य राजनीतिक दलहरूका कतिपय नेता वा कार्यकर्ताहरूले व्यापक रूपमा भ्रष्टाचार गर्ने गरेका कैयौँ उदाहरणहरू छन् । तर राजमोका सबै सांसद, नेता वा कार्यकर्ताहरूको त्यसबारे निस्कलङ्क छवि रहने गरेको छ ।

दुई दशक पहिले भएका स्थानीय चुनावमा राजमोले कैयौँ स्थानहरूमा विजय प्राप्त गरेको थियो । त्यो कार्यकालमा अन्य राजनीतिक दलहरूका स्थानीय निकायका कैयौँ पदाधिकारी वा सदस्यहरूले विकासका कार्यहरूमा विभिन्न प्रकारका अनियमितता वा भ्रष्टाचार गर्ने गरेका पनि थिए । तर राजमोका निर्वाचित स्थानीय निकायका पदाधिकारी वा सदस्यहरूले भ्रष्टाचार नगरिकन इमान्दारीपूर्वक नै विकास कार्यहरू अगाडि बढाउने गरेको इतिहास छ ।

प्रायशः यो भन्ने गरिन्छ कि बाहिर जतिसुकै क्रान्तिकारी कुरा गरे पनि सरकारमा गएपछि जुनसुकै पार्टी वा नेताहरू पनि बिग्रन्छन् वा भ्रष्ट हुने गर्दछन् । व्यवहारमा प्रायशः त्यस्तै हुने गरेको छ । जनताको यो पनि भनाइ छ कि कुनै मान्छे सत्ताभन्दा बाहिर रहँदासम्म जति इमान्दार देखिए पनि कुर्सीमा बसेपछि त्यसको चरित्र बदलिन्छ र ऊ भ्रष्टाचारको दलदलमा फस्दछ । त्यस प्रकारको आक्षेपबाट पनि राजमो बचेको छ । का। चित्रबहादुर के।सी। उपप्रधानमन्त्रीको हैसियतले सरकारमा सामेल हुनुभयो ।

तर उहाँ कुनै पनि प्रकारको भ्रष्टाचारमा मुछिनु भएन । उहाँले कुनै भ्रष्टाचार नगरिकन इमान्दारीपूर्वक आफ्ना जिम्मेवारीहरू पूरा गर्न प्रयत्न गर्नु भयो । उहाँले कैयौँ भ्रष्ट कार्यहरूमा नियन्त्रण गर्ने र आफ्नो मन्त्रालयका भ्रष्ट कर्मचारीहरूमाथि कार्वाही गर्ने वा वर्खास्त गर्ने कदमहरू पनि उठाउनु भयो । तर सर्वोच्च अदालतको फैसलाका कारणले त्यस प्रकारका कर्मचारीहरूको पुनर्वहाली भयो ।

पहिले लेखा समितिको सभापति हुँदा पनि उहाँलाई करोडौँ रूपैयाँ घुस दिएर भ्रष्ट पार्ने प्रयत्न गरिएको थियो । तर उहाँले कसैबाट एक पैसा पनि घुस लिनु भएन र राष्ट्रिय सम्पत्तिको दुरूपयोग वा हिनामिनमाथि नियन्त्रण गर्ने प्रयत्न गर्नु भयो । यी केही उदाहरणहरूबाट राजमो एउटा सिद्धान्तनिष्ठ राजनीतिक दल भएको कुरामा कुनै शङ्का रहँदैन । एउटा सिद्धान्तनिष्ठ राजनीतिक शक्ति सत्तामा गए पनि बिग्रन्न भन्ने कुराको प्रमाण राजमोले दिएको छ ।

सत्ता प्राप्त गर्ने आवस्था आएपछि कतिपय राजनीतिक सङ्गठनहरूले आफ्ना नीति वा सिद्धान्तहरूमा पनि सौदावाजी गर्ने गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । राजमोले सत्ताका लागि वा सरकारमा गएपछि पनि आफ्ना सिद्धान्त र नीतिहरूमा कुनै सम्झौता गर्ने काम गरेन । राजमो सरकारमा गएको बेलाको काम कारवाहीबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । सङ्घीयताले देशलाई जाति र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिमा पुर्याउँछ भन्ने मान्यता राख्दै राजमोले सुरुदेखि नै त्यसको विरोध गर्दै आएका थियो र अहिले पनि गर्दछ । का। चित्रबहादुर के।सी।ले सरकारमा गएको बेलामा पनि सङ्घीयताप्रतिको आफ्नो विरोधलाई निरन्तर अगाडि बढाउनु भयो ।

देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि लगातार र सम्झौताहीन सङ्घर्षको कम्युनिष्टहरूको लामो उज्ज्वल र गौरवपूर्ण इतिहास रहेको छ । त्यो परम्परालाई अगाडि बढाउँदै राजमोले पनि त्यो सङ्घर्षमा लगातार जोड दिंदै आएको थियो । नेपालको राष्ट्रियतामाथि सबैभन्दा बढी खतरा भारतीय विस्तारवादबाट नै छ । त्यसरी नेपालको सन्दर्भमा राष्ट्रियताको सङ्घर्षको अर्थ मुख्य रूपले भारतीय विस्तारवादका विरुद्धको सङ्घर्ष नै हुन्छ । तर कतिपय कम्युनिष्ट पक्षधर शक्तिहरूले सत्ताका लागि मार्ग प्रशस्त गर्न वा सत्तामा पुगेपछि भारतीय विस्तारवादप्रति सम्झौतापरस्त नीति अपनाउने गरेका छन् । तर सरकारमा गएको बेलामा पनि राजमोले भारतीय विस्तारवाद विरुद्धको आफ्नो अडानलाई कायम राख्यो । ओली सरकारले शुशिल कोइराको सरकारले संसदमा दर्ता गराएको पहिलो संविधान संशोधन विधेयकलाई पारित गराउन खोज्दा राजमोका उपप्रधानमन्त्री का। के।सी। सहित राजमोका सबै सांसदहरूले त्यसका विरुद्ध मतदान गरेका थिए ।

अन्य राजनीतिक पक्षहरूले सत्तामा जानको लागि आफ्ना नीतिहरू बदल्छन् वा सत्तामा भएका बेलामा सरकारका नीतिहरूको विरोध गर्ने दृढता देखाउँदैनन् । तर राजमोले त्यस प्रकारको संसदीय परम्परालाई तोड्दै सत्ताभन्दा आफ्ना सिद्धान्त वा नीतिहरूलाईमाथि राख्ने दृढताको प्रदर्शन गरेर संसदीय इतिहासमा नै एउटा नयाँ रेकर्ड कायम गरेको छ । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि कामरेड के।सी। भारतीय विस्तारवादका विरुद्ध लगातार र दृढतापूर्वक विरोध गरेका हुनाले भारतीय राजदुतावासले का। के।सी।का विरुद्ध सार्वजनिक विज्ञप्ति नै जारी गरेर उहाँका विरुद्ध आफ्नो असन्तोष प्रकट गरेको थियो ।

यो आम रूपमा थाहा भएको कुरा हो कि अन्य विभिन्न राजनीतिक सङ्गठनहरूले आफ्नो सङ्गठनको काम चलाउन वा व्यक्तिगत फाइदा उठाउन विभिन्न राष्ट्रिय वा विदेशी गलत स्रोतबाट ठूलो पैमानामा रकमहरू लिने गर्दछन् । तर राजमोले अहिलेसम्म त्यस प्रकारको कुनै स्रोतबाट एक रूपैयाँ पनि रकम लिने गरेको छैन । आफ्ना सदस्य, समर्थक र शुभेच्छुकहरूबाट प्राप्त चन्दा वा सहयोगबाट नै त्यसले आफ्नो पार्टीको काम वा आवश्यक खर्च चलाउने गरेको छ । तर त्यसरी प्राप्त हुने आम्दानी आवश्यकताका तुलनामा अत्यन्त कम हुन्छ र त्यसले गर्दा पार्टीमा सधैँ अभाव र आर्थिक सङ्कटको अवस्था रहन्छ ।

त्यसको परिणाम स्वरूप पार्टीका विभिन्न काम, सङ्गठनको विस्तार, कार्यकर्ताको सञ्चालन, प्रकाशन, चुनाव, कार्यकर्ताको खटनपटन, यातायात आदि काममा सधैँ समस्या र अभावको स्थिति रहन्छ । क. केसी माइक्रोबाट खसेर घाइते भएपछि कतिपय शुभेच्छुकहरूले उहाँको लागि गाडि किन्ने सुझाव दिएका थिए । ४–५ वर्षदेखि हामीले गाडिका लागि रकम जुटाउने प्रयत्न गर्दै आएका छौँ । तर अहिलेसम्म आवश्यक रकम नजुटेकाले त्यो गाडी किन्ने काम हुन सकेको छैन ।

आफ्ना समर्थकहरू र शुभेच्छुकहरूको सहयोगबाट राजमोले काठमाडौँको कार्यालयको भवन किन्यो तर अहिले पनि त्यसको लाखौँ ऋण तिर्न बाँकी छ । आर्थिक समस्याका कारणले बुटवलमा निर्माणाधिन भवनको कार्य अझै पूरा हुन सकेको छैन । आर्थिक अभावका कारणले सङ्गठनको सम्पर्क वा सम्भावना भएका कैयौँ ठाउँहरूमा पुगेर सङ्गठनको विस्तार गर्ने कार्य हुन पाएको छैन । आर्थिक अभावका कारणले नै कैयौँ प्रचारात्मक वा आन्दोलनका कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । अन्य राजनीतिक दलहरूले एउटा निर्वाचन क्षेत्रका लागि करोडौँ रूपैयाँ खर्च गर्दछन् । तर हाम्रा लागि देशभरको निर्वाचनका लागि केही लाख रूपैयाँ जुटाउन पनि गाह्रो हुन्छ ।

स्थानीय निर्वाचनमा अन्य राजनीतिक दलहरूले एउटै जिल्लामा वा कुनै एउटै गाउँपालिका वा नगरपालिकामा पनि करोडौँ रूपैयाँ खर्च गर्दछन् । तर हाम्रा लागि जिल्लाभरको चुनावका लागि एक–दुई लाख जुटाउन पनि गाह्रो पर्दछ । अहिलेको स्थानीय निर्वाचनको खर्चका लागि करिब १५ लाख रूपैयाँको बजेट बनेको थियो । तर त्यस मध्ये करिब आधा जति मात्र रकम जम्मा हुन सक्यो । त्यसले गर्दा चुनावका लागि न्यूनतम खर्च चलाउन पनि धेरै नै गाह्रो भएको छ । राजमोको अगाडि जुन गम्भिर प्रकारको आर्थिक समस्या पैदा भएको छ, त्यसकोे मूल कारण आस्थाको राजनीति नै हो ।

जुनसुकै गलत स्रोतबाट रकम लिने, त्यसको बदलामा आफ्ना सिद्धान्त र नीतिहरूको सौदावाजी गर्ने वा भ्रष्टाचार गर्ने हाम्रो अभ्यास भएको भए हाम्रा अगाडि यस प्रकारको कठिन आर्थिक स्थिति उत्पन्न हुने थिएन ।
राजमोको नीति पनि सिद्धान्त र आस्थाद्वारा नै निर्देशित हुने गर्दछ । अन्य कैयौँ राजनीतिक पक्षहरूले धेरै पैसा दिने मानिसहरूलाई सम्मानपूर्वक आफ्नो पार्टीमा प्रवेश गराउने र पार्टीमा उच्च स्थानमा राख्ने गर्दछन् । कतिपय राजनीतिक सङ्गठनले त पैसा लिएर सभासद वा सांसद गराउने गरेको पनि पाइन्छ । राजमोले त्यस प्रकारको नीति कहिल्यै पनि अपनाउने गरेको छैन । बेग्लाबेग्लै नेता वा कार्यकताहरूले गरेको योगदान वा भूमिकाका आधारमा नै कसैलाई पार्टी नेतृत्वमा पदोन्नति गर्ने वा विभिन्न सभासद् वा सांसद बनाउने नीति अपनाउँदै आएको छ ।

संसदीय वा स्थानीय निर्वाचनहरू कसरी हुने गर्दछन् रु त्यो आम रूपमा थाहा भएको कुरा हो । कैयौँ राजनीतिक पार्टी वा सङ्गठनहरूले आफ्ना सिद्धान्त, नीति वा कार्यक्रमका आधारमा जनताको समर्थन वा मत प्राप्त गर्ने प्रयत्न गर्नुभन्दा पनि पंैसा, प्रलोभन, यहाँसम्म कि रक्सी, राँगा, डर, धम्की र गुण्डागर्दीका आधारमा पनि चुनाव जित्ने प्रयत्न गर्दछन् । पहिलेका संविधान सभाका चुनावहरूमा पनि त्यस प्रकारका तरिकाहरू व्यापक रूपमा अपनाइएको थियो भने अहिले स्थानीय निर्वाचनको पहिलो चरणमा पनि त्यस प्रकारको अराजनीतिक तरिका व्यापक रूपमा अपनाइएको छ ।

भारतमा खास गरेर बिहार र यूपीमा त्यस प्रकारको चुनावी शैलीलाई लामो समयदेखि अभ्यास गर्ने गरिएको छ । त्यस प्रकारको शैली नेपालमा पनि फैलिंदै गएको छ । त्यस प्रकारको अराजनीतिक शैलीका विपरित राजमोले आफ्नो सिद्धान्त, नीति र कार्यक्रमको आधारमा चुनावमा भाग लिने नीति अपनाउँदै आएको छ ।

माथि उल्लेख गरिएका केही विषयहरू बाहेक राजमोको आस्थाको राजनीतिका अरू पनि कैयौँ सुनौला पृष्ठहरू छन् । तर जुन राजनीतिक दल वा सङ्गठनहरूले सिद्धान्त वा निष्ठाको राजनीतिको ठाउँमा बेग्लाबेग्लै प्रकारका गलत तरिकाहरू अपनाउँछन्, उनीहरूले देशका राजनीतिमा प्रमुख स्थान प्राप्त गर्नु र लगातार दृढतापूर्वक आस्थाको राजनीति गर्दै आएको राजमो जस्तो राजनीतिक दल पछाडि पर्नु— आखिर यस्तो किन हुन्छ रु यो प्रश्नको समाधान अहिलेको देशको निर्णयात्मक महत्वको आवश्यकता हो ।

त्यो प्रश्नको सही जबाफ र समाधानमाथि नै देशको विकास र भविष्य निर्भर गर्दछ । जुन राजनीतिक शक्तिहरूको आस्थाको राजनीतिबाट धेरै नै विचलन भइसकेको छ, देशमा उनीहरूको नै प्रभुत्व रहिरह्यो भने त्यसको परिणाम के होला रु कसैले सजिलैसित त्यो कुराको अनुमान गर्न सक्दछ । वास्तवमा देशको वास्तविक उन्नति त्यो बेला नै सम्भव हुन्छ, जुनबेला आस्थाको राजनीति गर्ने राजमो जस्ता राजनीतिक शक्तिहरू अगाडि आउँछन् ।

सिद्धान्तनिष्ठ राजनीतिबाट विचलित भएका राजनीतिक शक्तिहरूले देशको राजनीतिमा प्रमुख स्थान प्राप्त गर्नुको परिणाम स्वरूप नै देशको राष्ट्रियता र राष्ट्रिय हितमा लगातार आँच पुग्ने गरेको छ । राष्ट्रिय सम्पत्तिको व्यापक दुरूपयोग र भ्रष्टाचार हुने गरेको छ । देशको विकास अवरुद्ध हुने गरेको छ । सिद्धान्तनिष्ठ राजनीतिले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्दछ । तर त्यस प्रकारको सिद्धान्तबाट विचलित राजनीतिक शक्तिहरूका लागि देश वा जनताको हितले कुनै अर्थ राख्दैन । सङ्कीर्ण स्वार्थहरू नै उनीहरूका लागि सबैभन्दा प्राथमिक महत्वका विषयहरू हुन्छन् । त्यसका लागि उनीहरू देश र जनताको हित वा देशको राष्ट्रियता समेतको सौदावाजी गर्न हिच्किचाउँदैनन् ।

देशको राजनीतिलाई सरसर्ती प्रकारले हेर्ने हो भने पनि देशको राजनीति, बिभिन्न राजनीतिक दल वा नेताहरूको भद्दा, कुरूप र विकृत चित्र सबैका अगाडि छर्लङ्ग हुने छ । त्यसकारण जबसम्म त्यस प्रकारको राजनीतिक चित्रलाई बदलेर आस्थाको राजनीति गर्ने राजनीतिक शक्तिहरूले देशको राजनीतिमा प्रमुख स्थान प्राप्त गर्दैनन्, देशको उन्नति नहुने कुरा निश्चित र अवस्यम्भावी छ । तर देशको अहिलेको मानचित्रलाई बदल्ने कार्य त्यो बेला नै सम्भव हुने छ जब जनतामा उच्च प्रकारको चेतना उत्पन्न हुने छ । आखिरमा निर्णात्मक शक्ति जनता नै हुन् । देशमा अहिलेको जस्तो नै राजनीतिक स्थिति कायम रहने छ वा त्यसले अग्रगामी दिशा लिने छ ? त्यो कुराको फैसला अन्तमा जनतामा नै छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...