जो हारेर पनि चर्चित छन्

रञ्जु दर्शनादेखि किशोर थापासम्म परे चर्चाको शिखरमा

Ranju darsana

काठमाडौं । हुँदैन की भन्ने आशंकाका बीच पनि स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भयो । पहिलो चरणको निर्वाचनको चर्चाको केन्द्र जति भरतपुर महानगरपालिका बन्यो, त्यति नै काठमाडौं महानगरपालिकाको पनि उत्तिनै चर्चा चल्यो । काठमाडौं जित्ने उम्मेदवारभन्दा पनि हार्ने उम्मेदवारका कारण निक्कै चर्चामा रह्यो ।

विशेषगरी काठमाडौं महानगरपालिकामा उम्मेदवार भएकामध्ये केही चाँही कम उमेरमा निर्वाचनमा भाग लिएको भनेर पनि चर्चित बने भने केही चाँही पूर्व मेयर उपमेयरका उम्मेदवार बन्दा चर्चाको पात्र बने । यसैमा पर्छन् राप्रपाका राजाराम श्रेष्ठ ।

उनी शाहीकालीन सरकारका मेयर हुन् । उनी नेकपा एमालेसँग भएको गठबन्धनमा राप्रपाका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका थिए । तर उनलाई उपत्यकाबासीले पत्याएनन् । त्यही भएर पनि उनी हारेर पनि चर्चाका पात्र बनेका छन् ।

त्यति मात्र होइन, उनलाई स्वयम् राजावादीले समेत मन नपाएको चर्चा छ । यदी उनलाई महानगरभित्रका राजावादीले मात्रै पनि राम्रो सहयोग गरेका भए उपमेयरमा विजयी बन्न सक्थे ।

उनलाई एमालेले अन्तर्घात गरेको कुरा त लुकाउन सकिँदैन । तर, आफ्नै वर्ग र पार्टीभित्रका व्यक्तिले अन्तर्घात गर्दा उनले पराजय भोग्नुप¥यो । उनले मात्रै ३४ हजार ८ सय ५४ मत ल्याए । उपमेयरमा विजयी भएकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत पाइन् ।

१३ दिनसम्म भएको मत गणनाामा हारेर पनि चर्चा बटुल्नेमा सबैभन्दा अगाडि छन् रञ्जु दर्शना । जसलाइ उपत्यकाबासीले धेरै मन पराए ।

उनले २१ वर्षको कलिले उमेरमा काठमाडौं महानगरपालिका जस्तो ठाउँमा मेयरमा उम्मेदवारी दिने हिम्मत राखिन् । उनको पार्टी विवेकशील नेपाली दलको काठमाडौंमा कुनै संगठन छैन । तर, २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा दर्शनाले २३ हजार ४ सय ३९ मत पाइन् ।

काठमाडौंमा पहिलेदेखि नै कब्जा जमाएका अन्य पार्टीहरु उनका अगाडि कमजोर सावित भए । सत्तामा रहेको माओवादी केन्द्र, डा. बाबुराम भट्टराईको नयाँ शक्ति जस्ता पार्टीलाई पछि पार्दै उनी तेस्रो भइन् ।

उनलाई उपत्यकामा ५ हजार मत आउँदैन भन्नेहरु पनि धेरै थिए । तर उनले आँकडाभन्दा पनि धेरै मत ल्याएर चर्चा बटुलेकी छन् । त्यसमा पनि मेयरका वियजी विद्यासुन्दर शाक्यले विवेकशील नेपाली दलसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएसँगै दर्शनाको चर्चा थप चुलिएको छ ।
त्यसैगरी हारेर पनि चर्चा कमाउने अर्का पात्र हुन् किशोर थापा । उनी लामो समय सरकारी सेवामा थिए । नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापाले निर्वाचनमा विजयी बन्छन् भन्ने कसैको आँकलन नै थिएन । र, पराजित पनि भए ।

तर उनी पराजित भए पनि चर्चाका पात्र चाँही बनेका छन् । उनले ठूला भनिएका दलहरुका उम्मेदवारलाई चित खुवाउँदै चौथो स्थानमा पर्न सफल भएका छन् ।

उनी भर्खरै गठन भएको साझा पार्टीको तर्फबाट मेयरका उम्मेदवार बनेका थिए । उनले १८ हजार ४ सय ९६ मत पाएर चौथो बनेका छन् । तर साझा पार्टीकै उयमेयर निरुपमा यादवले ११ हजार ५ सय ३३ मत पाउँदा पनि उनले त्यसरी चर्चा कमाउन सकिनन् । यसलाई मधेशवादी अधिकारकर्मीले मधेशीप्रति राजधानीबासीले हेर्ने दृष्टिकोणको अभाव भन्न थालेका छन् ।

प्रतिकृया दिनुहोस