प्रजनन् स्वास्थ्य सेवाका रकम कटौती हुँदैन

काठमाडौँ, अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले मातृ स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घलाई प्रदान गरिँदै आएको आर्थिक एवम् प्राविधिक सहयोगमा कुनै कटौती नहुने जानकारी गराएको छ ।

अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, नर्वे, फिनल्याण्ड जस्ता प्रमुख देशले महासङ्घमार्फत् नै सङ्घलाई सो क्षेत्रमा विगत छ दशकदेखि आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएका छन् ।

अमेरिकाले अमेरिकी सहयोग नियोग युएसआइडी मार्फत् सन् २०१९ सम्म महासङ्घमार्फत नै सङ्घलाई ५५ करोड र अन्य देशले २० करोड भन्दा माथि सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विशेष गरी गर्भपतन सेवामा अमेरिकाले विकासशील देशलाई प्रदान गर्दै आएको आर्थिक एवम् प्राविधिक सहयोग कटौती गर्ने घोषणा पछि सर्वत्र चासो र चिन्ताको विषय रहेको थियो ।

तर अमेरिकाले आफूले दिने भनेको रकममा कुनै कटौती नहुने जानकारी महासङ्घलाई दिँदै कामलाई निरन्तरता दिन जानकारी महासङ्घलाई दिएको छ ।

नेपालको पाँचदिने भ्रमणमा रहनुभएका महासङ्घका महानिर्देशक टेबड्रोस माइसले सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै सङ्घद्वारा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रममा आर्थिक अभाव नहुने जानकारी दिए । सन् २०११ मा उनले महानिर्देशकको पद सम्हालेपछि पहिलो पटक नेपाल भ्रमणमा आउएका थिए ।

सङ्घको अहिले सो क्षेत्रमा वार्षिक रुपमा ५० करोड बजेट रहेको छ । महासङ्का महानिर्देशक माइसले गरिब, सीमान्तकृत, सामाजिक रुपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट विमुख वर्गमा परिवार नियोजन तथा यौन तथा प्रजनन सेवाको पहुँच बढाउन महासङ्ले आगामी दिनमा नेपालमा थप लगानी गर्ने जानकारी पत्रकार सम्मेलनमा दिए ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र महानिर्देशक माइसकाबीच आज नै भेटघाट भएको छ । सो अवसरमा उनीहरुका बीचमा अगामी दिनमा परिवानर नियोजन र प्रजनन् स्वास्थ्यका गर्ने कामका बारेमा कुराकानी भएको थियो ।

महानिर्देशक माइस र सङ्घका अध्यक्ष अमुसिह सिजापति, कार्यकारी निर्देशक उमेशराज पाण्डे र महासङ्घका कार्यक्रम निर्देशक जगदीश्वर घिमिरेका बीचमा पनि सङ्घका गतिविधि र कार्यक्रमका बारेमा कुराकानी भएको थियो । महानिर्देशक माइसले नेपाल परिवार नियोजन सङ्घले गरेका कामअन्तर्गत काभ्रे र भक्तपुरमा स्थलगत अवलोकन गर्ने र सङ्घको ३९ आँै केन्द्रीय सभामा उपस्थित हुने कार्यक्रम रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस