आज जनैपूर्णिमा पर्व मनाइँदै, आजै गाईजात्रा पनि मनाइदै

Raxya bandhan gaijatra

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा. शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ । यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

यता आजै प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ हुँदैछ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही खान दिनुका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।

विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ ।

यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। गाईजात्रा, जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...