२०७९ सालको दशैंको टीका असोज १९ गते, विवाहको लगन मात्रै ५६ दिन

Panchang samiti

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

आगामी आर्थिक वर्षमा विवाह र ब्रतबन्धको लगनैलगन जुरेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । जबकि २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो । वैशाख र जेठ महिनामा त एकदिन बिराएर विवाहको लगन जुरेको ढुंगेल बताउँछन् । उनका अनुसार वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । त्यस्तै, जेठमा ११ दिन, असारमा ५ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ ।

त्यस्तै, व्रतबन्धको लगन पनि कुनै महिना खाली छैन । वैशाखमा व्रतबन्धको दुईवटा लगन छ । त्यस्तै, जेठमा २, असारमा २, मंसिरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बजारमा छ्यापछ्याप्ती प्रकाशित भएका नक्कली पात्रोहरुले भ्रम छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमान्न आग्रह गरेको छ । समितिका सदस्य सचिव ढुंगेलले त्यस्ता पात्रोमा ब्रतबन्ध र विवाहको लग्न एवं तिथि समेत गल्ती भेटिएको र उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइसकिएको भन्दै त्यस्ता पात्रोको भर नपर्न सबैमा आग्रह गरेको हो ।

पहिले मन्त्रालयको एक शाखाको रुपमा रहेको पञ्चांग निर्णायक समिति गठन आदेश मोडलमा गएपछि नक्कली पात्रोलाई नियन्त्रण गर्ने नीति समितिले लिएको छ । गठन आदेश २०७७ को दफा ७ को उपदफा ञ र ठ अनुसार समितिको स्वीकृतिविना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने उल्लेख भएकाले सो विपरीत प्रकाशित भएका सबै पात्रो र त्यसको प्रकाशक विरुद्ध कानूनी कारबाही अघि बढाइएको समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...