आज ५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

Stock markettipse

काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । पछिल्लो वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ ।

सबै समूहको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ ।

आज ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो । बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन् ।

कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको मूल्य स्थीर रह्यो । भदौ २ गते नेप्सेले कीर्तिमानी ३१ सय ९८ अंक कायम गरेपछि ऋण खोजेर लगानी गरेका लगानीकर्ता निराश थिए ।

भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेकोमा बजार हरियाली भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

बुधबार उच्च अंकले बजार सुधार हुँदा पनि केही कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा शिर्ष स्थानमा मेगा बैंक देखिएको छ । मेगा बैंकको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत अर्थात १४ रुपैयाँले घटेर ३४२ रुपैयाँ ८० पैसामा झरेको छ ।

जम्मा ६ प्रतिशतमात्रै लाभांश घोषणा गरेको कुमारी बैंकको पनि शेयर मूल्य घटेको छ । कुमारी बैंकको १.६५ प्रतिशतअर्थात ५ रुपैयाँले मूल्य घटेर २९८ रुपैयाँमा झरेको छ ।
बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचक (सवइन्डेक्स) हरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ ।

यो बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ । धेरै बढ्ने दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । जसको शेयर मूल्य ४१ रुपैयाँ ८० पैसाले बढेर ४५९ रुपैयाँ ८० पैसा पुगेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।

 

प्रतिकृया दिनुहोस