आज मुटु दिवस : ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’

Mutu rog

काठमाडौं । आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’ भन्ने नारासहित दिवस मनाइँदैछ। विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको हो ।

हरेक वर्षको सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्ने उपायबारे चेतनामूलक कार्यक्रम हुने गरेको छ । नेपालमा पछिल्लो समय अस्वस्थ तथा असन्तुलित खानपान, विलासी जीवन र लापरबाहीका कारण मुटु रोगका बिरामी बढ्दै गएका छन् ।

नेपालमा २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङ्क छ । मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ । १०–१५ वर्ष अगाडि ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा र बालबालिकालाई नै मुटु सम्बन्धी समस्या देखिन थालेको डाक्टरले बताएका छन् ।

धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा रोगले च्यापेको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए । खानपान र जीवनशैलीमा ध्यान दिए, वर्षमा एक पटक भए पनि स्वास्थ्य परीक्षण गरे मुटु रोगबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ ।

नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलेस्टेरोल छ । यस्तै, १० प्रतिशतलाई मधुमेह छ । जाँड रक्सी तथा चुरोट सुर्ती नखाए, चिल्लो, पिरो, बोसो, भुटेका र तारेका खानेकुरा नखाए मुटुलाई जोगाउन सकिन्छ ।

यस्तै, हरियो सागपात धेरै खाने, प्रशस्त पानी पिउने, पोषणयुक्त सन्तुलित खाना खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् । यस्तै, अहिले कोरोना भाइरसको सङ्क्रमणका कारण मुटुरोग भएका बिरामी बढी समस्यामा परेका छन् । बेलैमा उपचार नपाउँदा केहीको ज्यान गएको छ । सरकारले मुटुरोगीलाई एक लाख रुपैयाँ बराबरको औषधि र उपचार निःशुल्क गरेको छ ।

प्रतिकृया दिनुहोस