होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

Senitizer and mask

काठमाडौं । केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् ।

औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन ।’

विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए । वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो। केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए ।

नाम उल्लेख नगर्ने सर्तमा विभागका एक निरीक्षक भन्छन्, ‘स्यानिटाइजरको खोलमा ठेगाना नै हुँदैन। सम्पर्क नम्बरसमेत हुँदैन। त्यस्तोलाई कहाँ खोज्ने ? कसरी कारबाही गर्ने ? बजारमा भएको स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ता आफैं चनाखो हुनुपर्छ।’

अधिकांश उपभोक्ता स्यानिटाइजर र मास्कको गुणस्तरबारे हेक्का राख्दैनन्। तर, चिकित्सक एवं स्वास्थ्यकर्मी डराई–डराई त्यसको प्रयोग गर्छन्। अनि, बिरामीको उपचारमा जुट्छन्। ‘बिरामीले घसेको वा लगाएको मास्कको के ग्यारेन्टी छ र ? हेक्का नराख्ने हो भने बिरामीबाट हामी र हामीबाट बिरामीलाई पनि कोरोना सर्न सक्छ’, त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक भन्छन्, ‘मास्क र स्यानिटाइजर लगाउँदैमा ढुक्क हुन सकिँदैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली पनि दिनहुँ स्यानिटाइजर दल्छन्। मास्क लगाउँछन्। तापनि ढुक्क छैनन्। किन त ? ‘बजारमा जस्ता पनि (गुणस्तरहीन) स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती छन्’, डा. ज्ञवाली भन्छन्, ‘उत्पादन अनुमति दिएर मात्र भएन। अनुगमन र कारबाही पनि गर्न जरुरी छ।’

विभागले कोरोना महामारी उत्कर्षमा रहेका बेला गत वर्ष पटक–पटक अनुगमन गर्दा मापदण्डविपरीतका स्यानिटाइजर बरामद गरेको थियो। विभागका सूचना अधिकारीसमेत रहेका केसी २० कम्पनीका उत्पादन गुणस्तरहीन पाइएको सुनाउँछन्। एक निरीक्षक भन्छन्, ‘विषाक्त रसायन (मेथानोल) मिश्रित ह्यान्ड स्यानिटाइजर पाइयो ।’

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा २० कम्पनीका उत्पादन प्रयोग गर्नै नहुने पाइएको थियो। केसी भन्छन्, ‘विषाक्त रसायन (मेथानोल) समावेश भएको र मापदण्डविपरीतका समिश्रण पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने हुँदा बिक्रीवितरण रोक्का गरियो।’ विभागले त्यस्ता उत्पादन प्रयोग नगर्न/नगराउन सूचना जारी गरेको थियो। निरीक्षण महाशाखाकी वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकार मापदण्ड पूरा नगरेका ११ व्यवसायीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको बताउँछिन् ।

व्यवसायीलाई धर्मसंकट ?
चीनबाट स्वदेश फर्केका एक युवामा कोरोना संक्रमण पुष्टि भएलगत्तै केही व्यवसायीले स्वदेशमै मास्क एवं स्यानिटाइजर उत्पादनको योजना बनाएका थिए। तर, कानुन र गुणस्तर परीक्षण गर्ने जनशक्ति नभएको जनाउँदै अनुमति नपाएको व्यवसायीको दुखेसो छ। बजारमा स्यानिटाइजर र मास्क अभाव चुलियो। आयात गरिएको सामानको मूल्य अकासियो । 

‘मास्कको आयात नै हुन पाएन। बजारमा स्यानिटाइजर चरम अभाव भयो’, व्यवसायी दीपक दाहाल भन्छन्। त्यसपछि व्यवसायीले स्वदेशमै उत्पादन गर्नुपर्ने महसुस गरे। उनीहरूले तत्कालीन उद्योगमन्त्री लेखराज भट्ट, कांग्रेस सांसद दिव्यमणि राजभण्डारी र संसद्को अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसँग सहयोग मागे।

‘तपाईंहरूले उत्पादन सुरु गर्नुहोस्। दर्ताको कामपछि गरौंला’, तत्कालीन उद्योगमन्त्री भट्टले दिएको आश्वासन स्मरण गर्दै व्यवसायी दाहाल भन्छन्, ‘मन्त्रीले नै भन्नुभएको हो भनेर हामी पनि ढुक्क भयौं।’

प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासि, पैठारी, दर्ता अनुमति र मापदण्ड (स्तर) सम्बन्धमा विभागले निर्धारण गरेको प्रक्रिया पूरा गरी अनुमति दिने व्यवस्था २०७६ चैत ७ गते मन्त्रीस्तरीय निर्णयबाट गरियो। त्यसको पर्सिपल्ट (चैत ९ गते) विभागले ह्यान्ड स्यानिटाइजर उत्पादन गर्न सूचना जारी गरेको थियो ।

‘हाल विश्वमा महामारीका रूप लिएको कोभिड–१९ र अन्य संक्रमणको रोकथाममा ह्यान्ड स्यानिटाइजरको प्रयोग उपयोगी हुने र हाल बजारमा अभाव रहेको तथा गुणस्तरसमेत यकिन नभएको अवस्था छ’, सूचना थियो, ‘हाल बजारमा रहेका उत्पादनहरूको हकमा यो सूचना प्रकाशित भएको मितिले बढीमा तीन महिनाभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।’

त्यो सूचनाले मर्कामा पारेको उत्पादकको भनाइ छ। ‘बजारमा स्यानिटाइजर अभाव थियो। त्यसको पूर्तिका लागि दुई वर्ष अवधि सकिने मिति (एक्सपायरी डेट) राखेर बजारमा स्यानिटाइजर पुग्यो’, एक व्यवसायी भन्छन्, ‘अनुगमनपछि औषधि विभागले लाइसेन्स दिँदा प्रयोग गर्ने मिति (एक्सपायरी डेट) एक वर्षको मात्र राख्नु भनिदियो। हामीलाई कत्रो धर्मसंकट ?’ 

विभागले बजारमा बिक्रीवितरण भइरहेको स्यानिटाइजरमा खोट लगायो। ‘मापदण्ड तोकेभन्दा अगावै उत्पादन गरेका र पछि पनि उत्पादन भएका स्यानिटाइजरको परीक्षण गरेका थियौं’, महानिर्देशक नारायण ढकाल भन्छन्, ‘बजारमा भएका गुणस्तरहीन सामान बन्द गर्न आदेश गर्‍यौं। कतिपय कम्पनी बन्द भए।’

गुणस्तरहीनमाथि कालोबजारी
प्रहरीले २०७८ वैशाखदेखि ६ साताभित्र ३७ व्यवसायीलाई पक्राउ गर्‍यो। प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार उनीहरूले गुणस्तरहीन स्वास्थ्य सामग्रीको कालोबजारी गरेको पाइएको छ। ‘परिस्थितिको फाइदा उठाउँदै गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादन गरी बिक्री गरेको भेटियो’, प्रवक्ता कुँवर भन्छन्, ‘जनस्वास्थ्यमा खेलवाड भयो। तोकिएभन्दा बढी मूल्यमा बिक्री गरियो। अर्कै कम्पनीको लेबल टाँस गरी नक्कली सामग्री उत्पादन गरेको पनि पाइयो ।’

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका दाहाल स्वदेशी मात्र होइन, विदेशबाट भित्रिएको मास्क र स्यानिटाइजरको पनि मापदण्ड नपुगेको दाबी गर्छन्। भन्छन्, ‘आयातित स्वास्थ्य सामग्री गुणस्तरहीन छ भनेर सूचना दियौं। तुरुन्तै कारबाही गरिएन ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया दिनुहोस