आज सोनाम ल्होसार मनाईँदै, ग्याल्पो ल्होसारमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

Sonam loshar @ tudikhel 5

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने उनले बताए ।

बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने छ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ । यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ ।

यता, हिमाली आदिवासी शेर्पा समुदायको नयाँ बर्ष च्या मो लाङ ल्हो (गोरु बर्ष)–२१४८ औं ग्याल्वो लोसार २०७७ माघ ३० गते परेको छ । सरकारले चैत १ गतेलाई ग्याल्पो ल्होसार भनेर उल्लेख गरे पनि तिथी गलत भएको भन्दै माघ ३० मै ल्होसार मनाउने भएको हो ।

ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामूख अग्नि प्रसाद सापकोटा लगायतले शुभकामना सन्देश जारी गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘मुलुकको वर्तमान जटिल अवस्थासँगै विभिन्न असमानता, विभेद र उत्पीडिनको अन्त्य गर्न र अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रुपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस्’ भन्ने शुभकामना व्यक्त गरे । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले ग्याल्पो ल्होसार जस्ता पर्वले नयाँ उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघले ग्याल्वो ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले अपरिपक्क रुपमा मन लाग्दा विदा दिने नलाग्दा खारेज गर्ने गरेको भन्दै आपती जनाएका छन् ।’

नेपाल शेर्पा संघले एक शुभकामना सन्देश जारी गर्दै ल्होसारले पहिचान र अधिकार स्थापित गर्ने मार्गको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा ‘सरकारले हिमाली आदिवासी शेर्पाहरुको मूख्य पर्वको तीथि विगारेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘भोट चन्द्रपात्रो अनुसार ल्होसार माघ ३० मै हो । तर, सरकारले चैत १ गते राखेको छ । यसले अन्यौल सिर्जना गरेको छ । उप्रान्त पञ्चांग निर्णायक समितिमा बौद्धमार्गी शेर्पा समुदायको समेत प्रतिनिधित्व गराउँदै पात्रो निर्माणमा सचेत भई कार्य गर्नुपर्दछ’ अध्यक्ष शेर्पाले भने ।

प्रतिकृया दिनुहोस