आफ्नै साथीलाई अपहरण गरी बेपत्ता बनाउने व्यक्ति पुर्पक्षका लागि थुनामा

Jail

सप्तरी । आफ्नै साथीलाई बेपत्ता बनाएको आरोपमा विष्णुपुर गाउँपालिका–१ जमुनीका २५ वर्षीय सुरेन भनिने सुरेन्द्र यादव बिहिबार थुनामा परेका छन् ।

जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बेपत्ता श्रवण मुखियाका बुवा मनोरथको जाहेरीमा अपहरण गरी मानिस बेपत्ता बनाइएको मुद्दामा यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

तीन वर्षपछि मलेसियाबाट घर फर्किएका मुखियालाई यादवले गत असोज २४ गते मोटरसाइकलमा चढाएर लागुपदार्थ सेवनका लागि भारततर्फ लगेको गाउँले बताउँछन् ।

भारत पुगेर लागुपदार्थ सेवन गरेर मातिएका अवस्थामा साँझ फर्किएका उनीहरूबीच मोबाइल हराएको विषयमा विवाद चर्किएपछि यादवले योजना बनाई हत्या गरेको अनुमान गरिएको छ ।

मुखियाको हत्या गरी डाक्नेश्वरी नगरपालिका–६ स्थित पाँची नदीमा फालेको गाउँलेसँग स्वीकारेपछि नै गाउँलेले आरोपित यादवलाई असोज २८ गते प्रहरीसमक्ष बुझाएको प्रहरीले जनाएको छ । स्थानीयवासी हरेराम मण्डलका अनुसार मुखियाबारे गाउँलेले यादवसँग बसेर घण्टौँ सोधखोज र केरकार गरेपछि असोज २७ गते राति २ बजे आरोपितले हत्या गरेको स्वीकारेका थिए ।

मनोरथको बयानका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले पाँची नदी छेउमा रगतको टाटा र मुखियाको चप्पल फेला पारेको प्रहरी उपरीक्षक धमलाले बताए । स्काभेटर र रबर बोटसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले असोज २८ गतेदेखि बेपत्ता मुखियाको खोजी गरे पनि फेला नपरेको उनको भनाइ छ ।

हत्याको आशङ्कामा खोजिएका मुखियाबारे पत्ता लाग्न नसकेपछि आरोपितविरुद्ध प्रहरीले कर्तव्य ज्यानको उजूरी दर्ता नगरी अपहरण गरेर मानिस बेपत्ता बनाएको मुद्दामा कारवाही थालेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अपहरण गरी मानिस बेपत्ता बनाएको उजूरी इलाका प्रहरी कार्यालय कल्याणपुरले गत मङ्सिर १७ गते दर्ता गरेको थियो ।

लागुऔषध मुद्दामा अदालतको फैसलानुसार दुई महिनाको कैद भुक्तान गरिसकेका यादवलाई हाल अपहरण गरी मानिस बेपत्ता बनाएको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा राखिएको निमित्त कारागार प्रमुख सञ्जयकुमार रामले जानकारी दिए ।

प्रतिकृया दिनुहोस