पाल्पामा जीप दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

Accident new

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै ज्यान गएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ ।

गाडीमा चालकसहित १० जना रहेको स्थानीयले बताएका छन् । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि चालक र सह–चालक फरार रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस