नयाँ नोट सीमित मात्रामा वितरण गर्ने तयारी

New money

काठमाडौँ । कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । ’अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले भन्नुभयो, “यसपालि नयाँ नोटको कुरा छाडौँ, सकुशल बस्न पाए हुन्थ्यो । ”

मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैङ्कले ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ भनी दिएको बारम्बारको निर्देशन दशैँमा पनि लागू गर्नुपर्ने अवस्था अहिले देखिएको छ । कोरोना सन्त्रासका कारण सर्वसाधारणको मात्रै होइन विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।

नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझामसाथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताउनुभयो ।

यसपालि दशैँ आउन अझै समय रहेको हुँदा अहिले नै केही निर्णय लिने अवस्था नभएको भन्दै उहाँले कोरोनाको विषम परिस्थितिले के कस्तो अवस्था ल्याउँछ अझै हेर्न बाँकी रहेको जनाउनुभयो । त्यसकै आधारमा नयाँ नोट वितरण गरिने उहाँले बताउनुभयो । ‘फाट्टफुट्ट त बाँड्नैपर्ने हुन्छ तर पोहोर सालजस्तो हुँदैन । सकेसम्म सीमित गर्नुपर्ने हुन्छ’ उहाँको विचार छ । नेपाल राष्ट्र बैङ्कका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपियाँका नयाँ नोट आइसकेका छन् ।

प्रतिकृया दिनुहोस