राष्ट्रकविको सम्झना : ‘फुलको थुंगा बगेर गयो, गंगाको पानीमा...’

Narayan oli

गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय जय जय नेपाल, सुन्दर शान्त विशाल ।

भनिन्छ ‘बनको काँडालाई तिखार्नुपर्दैन, आफैं तिखारिन्छ’ । हुन पनि हो । राष्ट्रकवि मात्रवप्रसाद घिमिरेका कृतिलाई कसैले अति व्याख्या गरिरहनु परेन । किनकी उनका कृति आफैंमा तिखारिएका थिए, आफैंमा ओजनदार थिए । जसले उनलाई राष्ट्रकवि बनायो ।

लम्जुङको पुस्तुन भन्ने रमणीय गाउँमा वि.स. १९७६ मा एक बालकको जन्मियो । हुर्कियो । सुन्दर, रमणीय हिमालको काखमा बसेर सुनौला सृजनालाई इन्द्रेणीमा उन्दै देशलाई सुम्पियो । र आफ्नो देशलाई सृजनैसृजनाको उपमा दिएर गयो । यी अदभुत क्षमतावान व्यक्ति थिए नेपाली साहित्यका धरोहर अर्थात् राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए । उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा निरन्तर कलम चलाउँदै आए ।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ‘फूलको थुंगा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल) ले गाएका छन् ।

‘राष्ट्र निर्माता’ जस्तो खण्डकाव्यको सिर्जना गरेर घिमिरेले साहित्य क्षेत्रमा आफूलाई सु–प्रबल राष्ट्रवादी कविका रुपमा स्थापित गराए । गीत र कविताका माध्यमबाट आधुनिक नेपालको जनमानसमा राष्ट्र प्रेमको भावना जागरण गराउने प्रमुख भूमिका घिमिरेले खेले ।

हुने बिरुवाको चिल्लो पात...’
‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ राणाकालीन अवस्था भए पनि वि.सं. १९९० पछि नेपालको साहित्य क्षेत्रमा आधुनिक र परिमार्जित काल शुरुहुन्छ । त्यहिबेलादेखि शास्त्रीय छन्दको शुरुआत गर्न सक्रिय रास्ट्रकवि करिव १४ वर्षको उमेर मै गोरखापत्रमा नव पुष्प भन्ने कविता छपाउन सक्षम हुन्छन् ।

बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलवमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे । घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि थिए । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा ४ वर्षसम्म सदस्य थिए ।

नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं. २०३३) जस्ता कविता संग्रह संकलित छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि दियो । जिन्दगी भनेको दुःख र सुखको मिसमास हो भन्न रुचाउने रास्ट्रकवि आफ्नो गीतमार्फत यसरी व्यक्त गर्दछन्ः

‘पहिलो पाली रमाइ रमाइ दोस्रो पाली रुवाइँ
यो पापमा नमुछिने छैन मान्छे कोहि
क्षमा गर्न सक्दिनँ म आफैँलाई पनि’

जीवन भनेकै जन्म र मृत्युको संगम हो । जीवन नहुञ्जेलसम्म अनेको कर्म भोग्नुपर्छ । कर्म गरेअनुसार नै उनले गरेको कर्मको फल कालान्तरसम्म रहन्छ । उनले कालान्तरसम्म रहने कर्म गरे, जसलाई मेट्न सकिन्न । उनले सच्चा सरस्वती पुत्र भै मातृभुमीलाई जे दिए, त्यो पर्याप्त छ । देश जनता र आउने पुस्ताले भुल्ने छैनन् । ती छोडेका सुन्दर कृतिहरु हिमालका अग्ला उचाईदेखि तराईका समतल फाँटसम्म गुन्जयमान हुने नै छन् ।

आजै र राती के देखें सपना मै मरि गएको
बतास बिना फुलको हाँगा भुइँ झरी गएको
मस्र्याङ्दी नदी नरमाईलो सुसाइरहेको
कहाँ हो, कहाँ बादलभित्र म रोइरहेको ।

घिमिरेले सायद कुनै दिन आफैँ मरेको सपना सायद देखेका थिए होला । कल्पना पनि गरेका थिए होला । जुन गीतमा स्वर दिएका नारायण गोपालको मृत्यु हुँदा यो गीतले सबैका आँखा रसाएका थिए । अहिले पनि यो गीतको आम स्रोताको मन भावुक बनाउँछ ।

फुलको थुंगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा ।

घिमिरेकै शब्दमा तारादेवीको सुरिलो स्वरमा भनेझै घिमिरेको जीवन फुलको थुंगा गंगामा बग्दै होला । गंगामा बग्दै स्वर्गमा बास माग्दै होला ।

यसरी बात लाग्यो
सबै मान्छे सबै कुरामा निपूर्ण हुँदैनन् । आलोचना नहुने व्यक्ति पनि हुँदैनन् । आरोप विनाको मान्छे पनि हुँदैनन् । विना गल्तीमा मान्छे पनि हुँदैनन् । विसं. २०१४ सालमा राजकीय प्रज्ञा प्रतिस्ठान गठन हुँनी उनी संलग्न बने भनिन्छ, उनी राष्ट्रवादी पञ्चे हुन् ।

उनलाई धेरैले राजावादी भन्थे । कारण उनी राजकीय प्रज्ञा प्रतिस्ठानमा लामो समय रहनु नै हो । उनलाई राजाको नजिक र राजाको कवि भन्ने आरोप नि नलागेको होइन । कतिपयले उनका केही सृजना राजाकै लागि कोरिएका छन् ।

उनलाई धेरैले सत्ताको धुरीमा पुगेका साशकहरुको सधैं नजिक पुग्ने र अवसर लिन पछि नपर्ने भन्ने गर्छन् । तर उनी राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न रहेको पाइँदैन । यस्ता सृजनाले अटुट देश प्रेमको व्याख्या गरेको स्पस्ट हुन्छ । राजारानी र राजसंस्थाको व्याख्या आफ्ना सृजनामा भने कतै उल्लेख गरेका पाइँदैन ।

देश र राजा एउटै हे भन्ने गरेका कारण उनका विषयमा विभिन्न आरोपहरु लाग्यो । तर पनि उनले रास्ट्र प्रवल हो, स्थायी हो, राजा र संस्था परिवर्तित हो भन्ने विचार पस्किएका छन् ।

नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।

जे भए पनि सकारात्मक सोच, नियमित योग, शारीरिक अनुशासन र उचित खानपिन कै कारण सताब्दी पुरुष बन्न सफल बने । राष्ट्रकविको उपमा पाए । जुन उपाधी अब अरुले पाउने सम्भावना न्यून छ । उनी यो दुनियाँमा नरहे पनि राष्ट्रकविको नाम र सृजना सधैं जीवित रहिरहने छन् । फुलको थुंगा गंगामा बगेर गए पनि उनका सृजना कालजयी बनेर जनजिव्रो रहिरहने छन् ।

प्रतिकृया दिनुहोस