बलात्कारको मुद्धाका कैदीबन्दी तामाङ होटलको कोठाभित्र युवतीसँग आपत्तिजनक अबस्थामा भेटिए

धादिङ । जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के देखिन्छ भने कैदीलाई कोठाभित्र एक महिलासँग थुनिन्छ र कैदीलाई होेटलसम्म पुर्याउन गएका सिभिल प्रहरी र कारागारका सहनाइकेहरू रक्सी खाँदै बाहिर पहरा दिइरहन्छन् ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् । कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा थिए ।

किनभने उनलाई जिल्ला अदालत धादिङले जबर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ । तर उनी सदरमुकाम धादिङबेंसीको एक होटलको कोठा १०४ मा नियोजित रूपमा थुनिए ।

उनलाई अरू कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बहानामा आफैं बाहिर आएका हुन् । तामाङ धादिङ कारागारका सहायक नाइकेमध्येका एक हुन् । कारागार सुरक्षामा नेपाल प्रहरी खटिएको हुन्छ । तर कैदीलाई उपचारका लागि बाहिर ल्याउने वा नल्याउने अधिकार कारागार प्रशासनसँग हुने प्रावधान ऐनमा छ ।

जेल प्रशासनसँग अनुमति लिएर मात्रै प्रहरीले कैदीलाई बाहिर निकाल्न पाउँछ र सँगसँगै सुरक्षाकर्मी खटाउनुपर्छ । यसरी उपचारका बहानामा अस्पताल नभई होटलका कोठामा युवतीसँग भेटिनु अभियुक्तको अर्को अपराध हो ।

स्रोतका अनुसार कैदीलाई अस्पतालमा उपचार गर्ने बहानामा युवती भेट्न होटलसम्म पुर्याइन्छ । कारागारमा यस्ता अनैतिक क्रियाकलाप वर्षौदेखि नै हुँदै आइरहेको स्रोतको भनाइ छ ।

अपराध गरको प्रमाणित भए सजायस्वरूप अभियुक्तलाई कारागारमा थुनिन्छ । कैद सजाय भुक्तान नहुन्जेल अभियुक्तहरू उपचारबाहेक कुनै अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम भए पनि धादिङ कारागारका कैदीबन्दी सदरमुकामका होटलहरूमा मस्ती गरिरहेको अवस्थामा भेटिनु कारागारको चरम लापर्बाहीको संकेत हो ।

कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कारागारभित्रका कैदीबन्दी यसरी खुलमखुला बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न चिह्न उठेको छ । कारागारभित्रको अर्को बेथिति त्यहाँभित्र अत्यन्तै महँगो मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री–वितरण हुनु पनि हो ।

चौकीदार र सहायकबाहेक अन्य कैदीबन्दी महँगो मूल्य तिरेर आवश्यक सामग्री किन्न बाध्य छन् । धादिङ कारागारमा लामो समयदेखि टोकबहादुर तामाङ चौकीदार थिए भने अहिले रूपेश चापागाईं छन् । चापागाईं पनि भर्खरै चौकीदार बनेका हुन् । पहिले चौकीदार रहो टोकबहादुर भने अहिले सहायक चौकीदार छन् ।

कारागारलाई सुधार गृहका रूपमा पनि लिइन्छ । सरकारले तोकेको निश्चित क्रियाकलापबाहेक अरू प्रतिबन्धित क्रियाकलाप कारागारभित्र गर्न पाइँदैन । तर धादिङ कारागार भित्र चौकीदारहरूले छुट्टै राज्य चलाइरहेका छन् ।

भित्रै जुवातास खेलाउने र बजारमूल्यभन्दा पाँचगुणा महँगोमा कैदीबन्दीलाई रक्सी बिक्री गर्ने गरेको कारागारबाट बाहिरिएका नीलकण्ठ नगरपालिका–८ का राम तामाङले बताए । ‘चौकीदार र सहायक चौकीदारहरूबारे कुरा उठाउनेलाई उनीहरूले धम्की दिने र कुट्ने गर्छन्,’ उनले भने, ‘कारागारभित्र चौकीदार र उसका सहायकहरूले अन्य कैदीबन्दीसँग पैसा उठाएर जुवाताससमेत खेलाउने गरेका छन् ।’

कैदीबन्दीलाई सरकारले दैनिक सात सय ग्राम चामल दिने भए पनि अन्य खाद्य सामग्री कैदीबन्दी आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । तर बजारमा १५÷२० रुपैयाँमा पाइने चाउचाउ ४५ रुपैयाँसम्म तिरेर किन्नुपर्ने उनले बताए । कारागारभित्र आवश्यक दैनिक उपभोग्य सामान किनमेल गर्न गएका बजार नाइकेसँग सुरक्षाकर्मी र प्रहरीकै मिलेमतोमा रक्सी र जुवातास भित्रिने गरेको स्रोतको भनाइ छ ।

पैसा भएकाहरूले चौकीदार र कारागार सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पैसा खुवाएर बाहिर मोजमस्ती गर्न जाने, कारागारभित्रै जुवातास खेल्ने र रक्सीखाने गरेका छन् भने पैसा नहुनेहरू चौकीदारहरूको शोषणमा बस्न बाध्य भएका छन् । यसरी कैदीबन्दी शोषणमा परेपछि न्यायिक छानबिनका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँलाई छानबिन गर्न अनुरोध गर्दै पत्रसमेत पठाइएको छ ।

कैदीबन्दीहरू गम्भीर बिरामी हुँदा बाहेक अरूबेला बाहिर जान नदिइएको धादिङ कारागारका निमित्त प्रमुख मदन कुमार श्रेष्ठले बताए । ‘कुनै विशेष परिस्थितिमा पनि कैदीबन्दीलाई बाहिर पठाउने गरेका छौं, भूकम्पको अनुदान लिन पनि बाहिर जान दिने गरेका छौं,’ उनले भने, ‘उपचार र विशेष कामका लागि भनेर गएका कैदीबन्दी होटल–होटलमा भेटिएकै हुन् भने नैतिक जिम्मेवारी त कारागार कार्यालयकै हुन्छ तर हामीले पनि सबै जिम्मेवारी सुरक्षाकर्मीलाई दिएका हुन्छौं ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...