लोक गायनमा एकल पकड : जताततै विष्णु माझीकै स्वरको तारिफ

माझीकै स्वर चर्चाको शिखरमा

Lalumai song

काठमाडौं । आलोचना जहाँ पनि हुन्छ । चर्चा त्यहाँ हुन्छ, जसले केही न केही गरेकै हुन्छ । कहिले काँही हावा चलेर पात हल्लिन्छ भने कहिले काँही चर्चामा आउने प्रकारले पनि हावा चल्छ ।

गायिका विष्णु माझी करीब १५ वर्षदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय छन् । उनी नेपाली सांगीतिक क्षेत्रकी सर्वाधिक रुचाइएकी र महँगी गायिका हुन् । उनको गुमनाम जीवनदेखि उनले गाएका कर्णप्रिय गीतका कारण वर्ष २०७५ को दोहोरी क्षेत्र विष्णु माझीमय बन्यो ।

२०७५ सालमा पनि सर्वाधिक चलेका १० गीतमध्ये माझीको स्वर रहेका पाँच गीत छन् । १ असोज २०७५ मा युट्यूबमा अपलोड गरिएको ‘सालको पातको टपरी’ बोलको गीत त लोकप्रियताको शिखरमै पुग्यो । गीत सर्वत्र गुञ्जियो, सबैका ओठमा झुन्डियो । र अहिले पनि उत्तिकै सबैको ओठमा छ यो गीत ।

युट्यूबमा सर्वाधिक हेरिएको दोहोरी गीतको कीर्तिमान बनाएको यो गीत २९ चैतसम्म चार करोड एक लाखभन्दा बढी पटक हेरिएको छ । नवराज पन्तको शब्द, वसन्त थापाको संगीतमा विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो गीत वर्ष २०७५ को सर्वाधिक चलेको गीत हो ।

वर्षको शुरुवात र मध्यतिर मात्रै नभई अन्त्यतिर सार्वजनिक भएका गीत झन् लोकप्रिय भइरहेका छन् । १ फागुनमा युट्यूबमा आएको ‘लालुमै’ चर्चाको शिखरमा छ । २९ चैतसम्म यो गीतले एक करोड ४८ लाखभन्दा बढी भ्यूज बटुलेको छ । विष्णु माझी र सन्दीप न्यौपानेको स्वर रहेको गीतमा शिव हमालले शब्द/संगीत भरेका छन् ।

विष्णु माझी र दिनेश क्षेत्रीले गाएको ३ चैतमा सार्वजनिक ‘केशरी’ मा १६ लाखभन्दा बढी भ्यूज छ । विमल अधिकारीको शब्द र मोहन खड्काको संगीतमा बनेको ‘लालटिन’ आठ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको छ । १५ चैतमा सार्वजनिक भएको सो गीतमा विष्णु माझी र मोहन खड्काको स्वर छ ।

२५ चैतमा सार्वजनिक भएको ‘पिंडालु’ २९ चैतसम्म १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । सो गीतमा विष्णु माझी र तेजस रेग्मीको स्वर छ भने शब्द/संगीत रेग्मीकै हो ।

Video

प्रतिकृया दिनुहोस