मोदीको चुनाव प्रचार अभियानमा धक्का, बायोपिक प्रदर्शनमा रोक

Mmmddd

काठमाडौं । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्न विभिन्न राजनीतिक दलले अनेक उपाय रच्ने गरेका छन् । यसैक्रममा सत्तारुढ दल भारतीय जनता पार्टीका लागि चुनाव प्रचारको प्रभावकारी अस्त्र हुने अपेक्षा गरिएको चलचित्र हो ‘पीएम नरेन्द्र मोदी’ । तर मतदान नसकिएसम्म सो चलचित्र प्रदर्शन गर्न रोक लागेपछि भाजपा र त्यसका समर्थकलाई ठूलो धक्का लागेको छ ।

‘पीएम नरेन्द्र मोदी’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘बायोपिक’ हो । चलचित्रको मुख्य पात्र र कथावस्तु नै मोदीको जीवनीमा केन्द्रीत रहेको बताइन्छ । विपक्षी दलहरुले निर्वाचनअघि यो चलचित्र प्रदर्शन गर्दा मतदातामा भ्रम सिर्जना हुने र चुनाव परिणाम प्रभावित गर्न सक्ने भन्दै प्रदर्शनमा रोक लगाउन माग गर्दै आएका थिए ।

चलचित्र प्रदर्शनमा रोक लगाउन त्यहाँको सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । तर अदालतले निर्वाचन आचारसंहिता सम्बन्धी विषय मध्यनजगर गरी चलचित्र प्रदर्शन गर्न मिल्ने या नमिल्ने भन्ने विषय अदालतले नभई निर्वाचन आयोगले तय गर्ने भन्दै रिट खारेज गरिदिएको थियो ।

बुधबार भारतको निर्वाचन आयोगले उक्त चलचित्रलाई सातै चरणका मतदान नसकिएसम्म प्रदर्शन नगर्न आदेश दिएको छ । चलचित्र राजनीतिक विषयमा केन्द्रीत रहेको भन्दै आयोगले निर्वाचन आचारसंहित लागू भइसकेको अवस्थामा यस प्रकारका सामग्री प्रयोग गर्नु आचारसंहिता विपरीत हुने ठहर गरेको हो ।

आयोगले आफ्नो फैसलामा भनेको छ, ‘चुनावका क्रममा यस्ता कुनै पनि फिल्मलाई इलेक्ट्रोनिक मिडिया वा सिनेमाघरमा प्रदर्शनको अनुमति दिन सकिँदैन जसबाट कुनै राजनीतिक दल वा राजनेतालाई चुनावी लाभ हुने सम्भावना रहन्छ ।’

उक्त चलचित्र ११ अप्रिलमा प्रदर्शनको तयारी थियो । तर प्रदर्शनको अघिल्लो दिन निर्वाचन आयोगले रोक लगाएको हो ।

सत्तारुढ भाजपाले उक्त चलचित्रका माध्यमबाट ठूलो संख्यामा मतदाताको समर्थन जुट्ने अपेक्षा गरेको थियो । चलचित्र प्रदर्शनमा रोक लागेसँगै भाजपाको प्रचार अभियानमा ठूलो धक्का लागेको विश्लेषक बताउँछन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री मोदीसँग सम्बन्धित ‘बायोपिक’ प्रदर्शन गर्नुको उद्देश्य सत्तारुढ दल भाजपालाई चुनावी फाइदा होस् भन्ने नै मुख्य उद्देश्य रहेको दावी गर्दै प्रदर्शनमा रोक लगाउन माग गर्दै आएका थिए ।

यो चलचित्र प्रधानमन्त्री मोदीको छविलाई चम्काउने उद्देश्यले निर्माण गरिएको बताइन्छ । चलचित्रमा मोदीको भूमिकामा नायक विवेक ओवरायले अभिनय गरेका छन् । 

प्रतिकृया दिनुहोस