बिर्तामोडमा ‘दाल भात तरकारी’

Dal bhat tarkari 20190409081835

बिर्तामोड । ‘भिजिट भिसामा’ र ‘दाल भात तरकारी’ गीतले प्रदर्शनअघि नै चर्चित बनाएको चलचित्र ‘दाल भात तरकारी’ को प्रतीक्षामा धेरै दर्शक छन् । कमजोर कथावस्तुका कारण नेपाली चलचित्र निरन्तर ओरालो लागिरहेको समयमा यसअगाडि चलचित्र ‘शत्रु गते’ बनाएको टिमले नै यो चलचित्र बनाएका कारण पनि चलचित्रप्रति दर्शकको आशा बढेको हो ।

गीत सुनेर र हेरेर पनि दर्शकको रोजाइमा परेको चलचित्र टिम चलचित्र सफल हुनेमा आशावादी देखिएको छ । वैशाख २० बाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’ चलचित्रको टिमले मोफसल यात्रा सुरु गरेको छ । सोमबार बिर्तामोडबाट सुरु भएको मोफसल यात्रा वैशाख ४ गते पोखरासम्म चल्ने छ । निर्माण टिमले बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै यो जानकारी दिएको हो । निर्माण टिमका अनुसार चैत २६ मा दमक, चैत २७ मा इटहरी, चैत २८ मा हेटौंडा, चैत २९ मा चितवन, चैत ३० मा बुटवल, वैशाख १ गते नेपालगन्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना हुने छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्य कलाकार हरिवंश आचार्यले योे चलचित्रले तीन पुस्ताको प्रतिनिधि गर्ने सुनाउँदै ‘दाल भात तरकारी’ आममानिसको कथा भएको बताए । ‘दाल भात तरकारीका लागि कस्तोकस्तो संघर्ष भइरहेको छ भन्ने विषय चलचित्रले देखाउने छ’, उनले भने । सोमबार झापाको बिर्तामोडबाट सुरु टुरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्काको साथमा गायिका जुनु रिजाल सहभागी छन् ।

किरण केसीको प्रस्तुति रहेको चलचित्र सुदन केसीले निर्देशन गरेका हुन् । सुदन किरण केसीका छोरा हुन् । उनको यो डेब्यु चलचित्र हो । मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय चलचित्रमा छ ।

अभिनेत्री आँचल शर्माले चलचित्रमा आफ्नो महŒवपूर्ण भूमिका रहेको जानकारी दिँदै मह सञ्चारको ब्यनरमा काम गर्न पाउँदा निकै गर्व महसुस भएको बताइन् । हरिवंश आचार्यको गीत, शम्भुजित बास्कोटाको संगीत रहेको चलचित्रमा एक्सन रोशन श्रेष्ठको छ ।

प्रतिकृया दिनुहोस