मौसम : छिनछिनमै घामपानी, छिनछिनमै अन्धकार

मौसमविद् भन्छन्, यो प्रणाली लामो समयसम्म रहँदैन

Weather 24

काठमाडौं । आइतबार बिहान एकैछिनमा आकाशमा कालो बादलले ढाक्यो । पुरै अन्धकार भयो र वर्षा पनि भयो । सामान्यतया प्रिमनसुनी समयमा अपरान्ह्सम्म घाम लाग्ने र त्यसपछि पानी पर्ने किसिमको मौसमी गतिविधि हुन्छ । तर केही दिनयता देशभरको मौसममा अर्कै किसिमको गतिविधि देखा परिरहेको छ ।

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण मानिसहरु डर र चिन्ता मान्न थालेका छन् । त्यसमा पनि गत आइतबार अचानक आएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएको हावाहुरीपछि मानिसहरुमा एक किसिमको त्रास नै फैलिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनको समयमा क्षणिक वर्षा हुन्छ । एकैछिनमा बादल लागेर पानी परे पनि लामो समयसम्म भने यो प्रणाली रहँदैन ।

आइतबार पनि देशका विभिन्न भूभागमा मौसम बदली भएको छ । केहीदिनदेखि धुम्म भएको आकाश आइतबार पनि खुल्दै धुम्म हुने भइरहेको छ ।

नेपालमा अंग्रेजी वर्षको मार्च महिनादेखि मे महिनासम्म प्रिमनसुनी गतिविधि हुन्छ । केहीदिनयता स्थानीय वायु सक्रिय हुँदा यसको प्रभाव परिरहेको छ । प्रिमनसुनी समयमा स्थानीय वायुको प्रभाव निश्चित ठाउँमा हुने हुनाले पूर्वानुमान गर्न असहज हुने महाशाखाका मौसमविद् बताउँछन् ।

अहिले पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै आइहेको छ । महाशाखाले मौसमी गणितीय तथ्यांक, कम्प्युटर भूउपग्रहको तस्विर र वायुमण्डलको अवस्था हेरेर मौसम पूर्वानुमान गर्ने गरेको छ । तर, नेपालको भौगोलिक अवस्थाका कारण पनि नेपालमा मौसम पूर्वानुमान गर्न असहज भएको मौसमविदहरु बताउँछन् ।

सामान्यतया वायु उच्चचापीय क्षेत्रबाट न्यूनचापीय क्षेत्रमा बहने गर्छ । जमिन तातेपछि जमिनको हावा माथि जान्छ । त्यो हावा माथि सहतभन्दा माथि वायुमण्डलमा गएपछि तल जमिन केही खाली हुन खोज्दा त्यहाँ न्यूनचापीय क्षेत्र बन्ने गर्दछ ।

न्यूनचापीय क्षेत्रमा आसपासको उच्चचापीय क्षेत्रबाट हावा बहन्छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा हावाको वेग केही बढी हुने गर्दछ र हावा लाग्छ । वायुमण्डलको विभिन्न क्षेत्र तथा तहमा वायुको गतिमा केही उतारचढाव भैरहेको हुन्छ, गति असामान्य हुँदा उत्पन्न हुने उतारचढावका कारण विभिन्न ठाउँमा न्यूनचापीय क्षेत्रको विकास हुन्छ ।

न्यूनचापीक्षेत्र विकास भएको ठाउँमा पनि उच्चचापीय क्षेत्रबाट न्यूनचापीय क्षेत्रमा हावा बहन्छ । यसरी पनि हावाको गतिमा बदलाव आइरहेको हुन्छ । त्यसैको परिणामस्वरुप केही समयदेखि मौसम परिवर्तन भइरहेको छ ।

अब नेपालमा यो क्रम केही दिनदेखि नै सुधार आउने अनुमान गरिएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । सोही वायुको प्रभावले आइतबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् ।

सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक/दुई दिन प्रभावित नै हुनेछ । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधार हुँदै जाने बताइएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।

राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मङ्गलबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...