श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गयो

Khukuri prahar

सर्लाही । सर्लाहीमा एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको बरहथवा नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले बिहीबार राति ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहारी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

राती साँढे १० बजेतिर रामजीले श्रीमती सुनिताको घाँटी, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको उपरीक्षक भट्टराईले जनाएका छन् ।

प्रहरीकाअनुसार खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो ।

श्रीमतीको हत्या गरी भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमतीले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको बताएका छन् ।

मृतक सुनिता बहरथाको चक्रजनता बहुमुखी क्याम्पसमा शिक्षिकाको रुपमा कार्यरत रहेको प्रहरीले जनाएका छन् ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस