'सरकारी गाडी निजी काममा प्रयोग गर्न पाइँदैन, के भएको रहेछ म बुझ्छु’

Sarkari gadi

वीरगन्ज । भारतबाट तस्करीका सामान ओसार्नमा हुलाकी राजमार्ग योजना कार्यालयको गाडी दुरुपयोग गरेको पाइएको छ ।

सडक विभागले वीरगन्जमा रहेको हुलाकी राजमार्ग योजना कार्यालयका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जीप कार्यालय प्रमुखका छोराले भारतबाट तस्करीको सामान ओसार्नमा दुरुपयोग गर्दै आएको खुलासा भएको हो ।

आइतबार राति तस्करीको सामानसहित उक्त जीप वीरगन्ज भन्सार नाकाबाट पक्राउ परेपछि यो रहस्यको खुलासा भएको हो ।

हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जीपमा भारतको रक्सौलबाट हार्डवेयरका सामान राजश्व छलेर वीरगन्ज ल्याउँदै गरेको अवस्थामा वीरगन्ज भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीबाट करिब एक लाख रुपैयाँ मुल्य बराबरको हार्डवेयरका विभिन्न सामान बरामद भएको हो ।

रक्सौलबाट हार्डवेयरका सामान खरिद गरी कार्यालय प्रमुख अनुठालालका छोरा आनन्द आफैले हाक्दै ल्याइरहेको बोलेरो जीप शंका लागेर भन्सार नाकामा सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा तस्करीका सामान बरामद भएको हो ।

सशस्त्र प्रहरीले जीपबाट तस्करीका सामान झारेर चेकजाँच गर्ने क्रममा आनन्द भने जीप लिएर फरार भएका थिए ।

जीपबाट बरामद भएका हार्डवेयरका सामान वीरगन्जको भिस्वामा निर्माणधिन हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जका प्रमुख अनुठालालको निजी घरमा प्रयोग गरिने सामानहरु हुन् ।

आइतबार अनुठालालका छोरा आनन्दले तीन पटक उक्त जीपमा रक्सौलबाट सामान ओसारी सकेपछि चौथो पटक फेरि रक्सौलबाट सामान लिएर आउँदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा ती सामान बरामद गरेको हो ।

बरामद सामान सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा आइतबार राति नै बुझाइ दिएको भएपनि भन्सारका कर्मचारीले ति सामान सोमबार भन्सार प्रज्ञापनपत्र काट्न लगाएर छाडिदिएका छन् ।

सशस्त्र प्रहरीले बरामद गरी भन्सारमा बुझाएको सामान छुटाउन आनन्द आफै सोमबार बिहान भन्सार कार्यालयमा पुगेका थिए ।

यो तस्करीको सामान होइन सोमबार बिहान वीरगन्ज भन्सार कार्यालय परिसरमा भेटिएका आनन्दले भने, ’वीरगन्जमा मेरो घर बन्दैछ, रक्सौलमा सस्तो पाइने भएकाले किनेर ल्याएको हुँ ।’

नियमत राजश्व छलेर भित्र्याइएका तस्करीका सामान बरामद भएमा भन्सार कार्यालयले ती सामान सिज गरी प्रक्रियामार्फत लीलामी गर्छ ।

तर आनन्दबाट बरामद गरिएका सामान भने भन्सार कार्यालयले सिज नगरी सोमबार भन्सार राजश्व मात्र तिराएर छोडिदिएको छ ।

सरकारी कार्यालयकै कर्मचारीको सामान भएका कारण भन्सारका कर्मचारीले दवावमा परी सामान छाडिदिएको श्रोतले बताएको छ ।

तर वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले भने चेकजाँचका क्रममा भन्सार क्षेत्रभित्र कुनै सामान बरामद भए ती सामान भन्सार प्रज्ञापनपत्र काट्न लगाएर छाडिने गरेको बताए । उनले भने, ’भन्सारको ढाटभन्दा पारीको क्षेत्रमा बरामद भए मात्र त्यो सामान सिज गर्नुपर्ने हुन्छ ।’

आनन्दको जीपमा फेला परेको सामान पनि भन्सार कार्यक्षेत्र भित्रबाट बरामद गरेकाले भन्सार प्रज्ञापनपत्र काट्न लगाएर छाडिदिएको उनले जानकारी दिए ।

हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जका प्रमुख अनुठालाल पटेलले भने आफू दुई सातादेखि उपचारका लागि काठमाडौंमा रहेको बताए ।

कार्यालय प्रमुख अनुठालालले भने, ’म बिरामी भएर उपचारका लागि दुई सातादेखि काठमाडौंमा छु, सरकारी गाडी निजी काममा प्रयोग गर्न पाइँदैन, के भएको रहेछ म बुझ्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...