लगातारको वर्षाले डिपिएलको खेल प्रभावित, अब २८ गतेदेखि सुरु हुने

94675696condition

धनगढी ।  शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण प्रभावित बनेको छ। 

प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्ष सुभाष शाहीले बताए। खेलहरु भने यही माघ २८ गतेदेखि सुरु हुने भएको छ। 

सोमबार पहिलो डिपिएल खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ। प्रतियोगिताको ट्रफी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

डिपिएलका सद्भावना राजदूतमा नियुक्त दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स र डिसिएका अध्यक्ष शाहीले आज संयुक्त रुपमा उक्त ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिक कार्यक्रममा बालविवाहविरुद्धको अभियानमा पनि हस्ताक्षर गरिएको छ। सहभागी टोलीका कप्तान खेलाडी मालिकले बालविवाहविरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन्। 

प्रतियोगिताको विजेताले रु ३० लाख पुरस्कार पाउने भएको छ। यस्तै उपविजेताले रु १२ लाख, तेस्रो हुनेले रु चार लाख र चौथो हुने टोलीले रु दुई लाख पुरस्कार पाउने जनाइएको छ। प्रतियोगिताको ‘गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर’ले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक ‘म्यान अफ दी म्याच’लाई रु १५ हजार, ‘म्यान अफ दी सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’लाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन अवसरमा एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप रु एक–एक लाख प्रदान गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ।
 

प्रतिकृया दिनुहोस