हङकङमा नेपाली फिल्म अवार्ड हुने, यि कलाकार जादैछन्

Dsc09629 qxcbgygwzi

काठमाडौं । हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्म अवार्ड हुने भएको छ ।

एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ मा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् । जसमा तीन विधा आदीवासी फिल्मको पनि रहनेछ । यसका साथै एक फिल्मकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ ।

तिन हजार पाँच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ । पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय पपुल्यारिटीसँगै जुरीमा समेत रहनेछ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको अवार्ड कार्यक्रममा एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापा, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, वितरक गोपाल कायस्थ, निर्माता तथा हल संचालक प्रदीप दाहाल, निर्देशक तथा पत्रकार डब्बु क्षेत्री, अभिनेता गौरव पहाडी, अभिनेत्री अरुणा कार्की लगायतको उपस्थिति रहेको थियो ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानिय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकी उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट, मिस नेपाल हङकङ सोसाइटीकी कोर्डीनेटर शान्ति नेपाली, मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु, लक्ष्मी चन्द, सुयोग शाक्य, रेवती खड्का, रोशनी श्रेष्ठ, रेविका राई, विष्णु पुन र राकेश लिम्बु रहेका छन् । यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेन्मेन्टले हङकङको सम्पूर्ण ब्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्मस् प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रम कोर्डिनेट गर्नेछन् भने यसलाई सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गर्नेछन् ।

यसैगरी निर्णायक मण्डलमा मध्येका एक सदस्य कलाकार सुनिल थापा रहेको कार्यक्रममा जनाइयो । उपस्थित सम्पूर्णले अवार्ड कार्यक्रमलाई सफलता शुभकामना दिएका थिए । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछन् भने यसको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ भने फर्म समेत निःशुल्क रहेको छ ।

पछिल्लो समय नेपाली फिल्म तथा गीतसंगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड विदेशी भूमिमा हुने गरेका छन् । यस्ता किसिमको कार्यक्रमले नेपाली फिल्मको प्रवद्र्धनमा टेवा पुग्ने फिल्मसंग सम्बन्धित सरोकारवालाहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस