नेपाल-युएई ट्वान्टी-२० : नेपाललाइ इतिहास रच्ने अर्को मौका

Nepali cricket team 18

काठमाडाैं । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि-२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

टि-२० सिरिज भने १-१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा आइतबार दिउँसो हुने खेल नेपालले जित्नसके पहिलो टि-२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ ।

सोही मैदानमा नेपालले ऐ्तिहासिक एकदिवसीय सिरिज जितेको थियो । राम्रो फर्ममा रहेका नेपाली टोलीले टि-२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीप्काटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

त्यसो त अझै युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टि-२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् ।

टि–२० सिरिजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन देख्नलायक रहँदै आएको छ । दोस्रो टि-२० मा पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दा नेपालले चार बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले पनि नेपाली बलरको अलराउण्डर प्रदर्शनका कारण टि-२० अन्तर्गत दोस्रो खेलमा जित हासिल भएको बताइसकेका छन् । सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि-२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो ।

पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि-२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ । टि-२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ । जारी सिरिजमा नेपालका बलरको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । विशेषगरी सोमपाल कामी र सन्दीप लामिछानेको योगदान अझै महत्वपूर्ण छ ।

सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गरेको टि-२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २० रनले पराजित भएको थियो । त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि-२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई छ विकेटले विजयी भएको थियो । सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस