यूएईविरुद्ध पहिलो टी–२० आज, एक दिवसीय सिरिज जितेको नेपाललाई यो पनि जित्नैपर्ने दबाब

Nepali cricket team

काठमाडौं । यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो टी–२० खेल खेल्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टी–२० सिरिज पनि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

पछिल्लो समय घरेलु क्रिकेटमा यथेष्ट टी–२० म्याच खेलेका कारण नेपाली टिममा आत्मविश्वास बढेको कप्तान पारस खड्का बताउँछन् । नेपालले अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्न सकेको छैन। सन् २०१३ मा भएको टी–२० विश्वकप छनोटमा तेस्रो भएपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक छलाङ मार्दै विश्वकप खेल्न सफल भएको थियो।

सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा नेपालले पहिलो चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेपनि नेट रनरेटमा बंगलादेशभन्दा पछाडि पर्दै अगाडि बढ्न सकेको थिएन।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो। टी–२०विश्वकपमा नेपालले खेलेका तीनवटै खेलले टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएका थिए।

त्यसअघि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता भएपछि मात्र स्वतः टी–२० अन्तर्राष्ट्रियको पनि मान्यता हुन्थ्यो। टी–२० का लागि मात्र छुट्टै मान्यता दिने चलन थिएन। दुई वर्षसम्म टी–२० अन्तर्राष्ट्रिय मान्यता रहेपनि नेपालले त्यसलाई कायम राख्न सफल भएन।

अर्को टी–२० विश्वकपमा छनोट नभएसँगै नेपालको त्यो मान्यता गुमेको थियो। नेपालले हालसम्म १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ जसमा केवल तीन खेलमा मात्र जित हात पारेको छ। ८ खेलमा हार ब्यहोरेको थियो भने एक खेल अनिर्णित बनेको थियो। टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि हङकङसँग तय भएको टी–२० शृंखला उसले जितेको थियो।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पहिलोपटक यूएईसँग भिड्न लागेको हो।

प्रतिकृया दिनुहोस