दोस्रो एकदिवसीय क्रिकेटमा युएईमाथि नेपालको शानदार जित

1548415405nepal cricket

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शानदार जित निकालेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो  ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटियो ।

युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले ५ तथा सन्दीप लामिछाने ४ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको सम्मान जनक स्कोरको लक्ष्य दिएको हो । एकदिवसीय अन्तराष्ट्रियमा नेपालको यो सर्वाधिक ठुलो योगफल हो ।

नेपालको फराकिलो स्कोरमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङस खेले । रोहितले ५८ बलमा ५५ रन बनाए । युवा ब्याट्सम्यान रोहितको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक हो ।

रोहितले आरिफ शेखसंग मिलेर छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रनको साझेदारी हो । आरिफ २९ रनमा आउट भए ।

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे । नेपालका कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१/२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रनमा आउट हुँदा ललित नारायण राजवंशी ३ रनमा अविजित रहे ।

युएईका इमरान हेदर र अमीर हायतले ३/३ विकेट लिए ।

जितसंगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब नेपाल र युएईबिचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ ।

प्रतिकृया दिनुहोस