जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न प्रधानमन्त्री ओलीको आग्रह

N8cpqkowuyktr3gz8fzm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् ।

२९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने–‘पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनैपनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ । पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन । वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामीमात्रै हुन् ।’

प्रधानमन्त्री ओलीले स्पस्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै ‘यो पाँचवर्षे स्थायी सरकार हो । संख्याको बहुमतमात्र हैन, स्पस्ट ‘भिजन’सहित अगाडि बढेका छौं । आँकडामा खेलेर परिवर्तन आउँदैन । बरु, उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो । मैले बजेट कार्यान्वयन मंसिरसम्मको पाँचमहिने तथ्यांक प्रस्तुत् गरेको हुँ’–भने ।

सरकार नयाँ बाटोमा

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानुन निर्माणमा बढी केन्द्रित हुनुपरेको उल्लेख गर्दै सरकारले अब विकास र समृद्धिको यात्रालाई रफ्तारमा अघि बढाउने बताए ।

उनले भने–‘गत असोज २ गतेसम्म मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन निर्माणमा बढी अल्मलिनुपर्‍यो । त्यसयता अरु कानुन निर्माणसँगै नयाँ अभियान पनि चलाइरहेका छौं । जसका सकारात्मक असर देखिँदैछन् । अब नेपालमा कोही भोकै बस्नुपर्दैन । भोकले मर्नुपर्दैन । तराईमा शीतलहरबाट जोगाउन न्यानोका लागि आवश्यक सामग्री पठाएका छौं । अर्को वर्षसम्म निरक्षरता उन्मूलन गर्ने अभियानका साथ लागेका छौं । त्यसैले अब सरकारले नयाँ बाटो समातेको छ ।’

राष्ट्रिय एकता आवश्यकताअनुरुप

प्रधानमन्त्री ओलीले पृथ्वीनारायणलाई राष्ट्र निर्माणको अगुवाइ गर्ने नायककारुपमा आफूले बुझेको चर्चा गर्दै राष्ट्रिय एकतालाई अहिलेको आवश्यकताअनुरुप सबल र मजबुद् बनाइनुपर्नेमा जोड दिए ।

पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उनको भनाइ थियो ।

स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हीत, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश र विचारलाई स्वाधीन राष्ट्र निर्माणका लागि आजका दिनमा पनि उत्तिकै सान्दर्भिक भएको धारणा व्यक्त गरे ।

‘पृथ्वीनारायणका विचार राष्ट्रलाई एकता र समृद्ध बनाउनेखालका छन् । ‘दुई ढुंगाबीचको तरुल’ यहाँको कूटनीति आजपनि सान्दर्भिक छ । प्राज्ञिक वर्गले यसलाई अझ सान्दर्भिक बनाएर लैजानुपर्छ’–उनले भने ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विश्व साम्राज्यवादले घेरेको विषम परिस्थितिमा नेपाललाई एकीकरण गर्न पृथ्वीनारायणले गरेको योगदानलाई आजको पुस्ताले भुल्न नहुने विचार व्यक्त गरे ।

प्रतिष्ठानकै उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायणको राष्ट्र निर्माणको योगदानलाई आत्मसात् गर्दै अग्रगमनतर्फ लागेर प्राज्ञिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिए ।

यसअघि, प्रधानमन्त्री ओलीले प्रज्ञा–भवन परिसरमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमा अनावरण गरेका थिए ।

त्यस्तै, कविशिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमाको पनि उनले अनावरण गरेका थिए ।

सँगैको सरस्वती मन्दिरमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुका साथै परिसरमै प्रदर्शित एकीकरणसँग सम्बन्धित चित्रकलाको अवलोकनसमेत गरेका थिए ।

‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन तथा प्रतिमा अनावरण कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...