राजदूत लक्की शेर्पाले बल्ल दिइन् राजीनामा

Lucky sherpa

काठमाडौं । मानव बेचविखनमा संलग्न रहेको आरोप खेपेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।

मानव बेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि छानबिन चलिरहेको थियो । शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए ।

शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए ।

राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र) को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन् । मंगलबार विहान विभिन्न सञ्चारमाध्यममा शेर्पालाई बर्खास्त गर्ने निर्णय गर्ने समाचार प्रकाशित भएका थिए । सो लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजदूत शेर्पाका विषयमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेका थिए ।

सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो । उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियो ।

तर, शेर्पाले आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आएकी छिन् । चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी गर्दै आएकी छिन् । परराष्ट्रले शेर्पामाथिको छानबिन प्रतिवेदन बुझाएको केही समय भइसके पनि उनीविरुद्ध सरकार कुनै निर्णयमा पुग्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस